२३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई ‘नयाँ जागरण विस्फोट’ को संज्ञा दिएका छन्।
जेनजी सहिद दिवसको अवसरमा वक्तव्य जारी गर्दै लामिछानेले भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत असक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताबाट सिर्जित निराशाविरुद्ध जेनजी पुस्ता सडकमा उत्रिएको बताएका छन्।
उनले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै भदौ २३ र २४ गते भएको घटना फेरि दोहोरिन नहुने बताएका छन्। नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै जीवन गुमाउने सहिद तथा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरीप्रति पनि उनले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
लामिछानेले आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राजनीतिमा चासो नराख्ने भनिएको युवा पुस्ता सडकमा आएर परम्परागत राजनीतिक शैलीलाई अस्वीकार गरेको बताएका छन्।
उनका अनुसार जेनजी आन्दोलनले उठाएका प्रश्नको जवाफ दिने जिम्मेवारी अहिले रास्वपामाथि आएको छ। उनले भविष्यमा फेरि नागरिकले जवाफ माग्ने अवस्था आउने भन्दै पार्टीको निरन्तर खबरदारी र निर्मम समीक्षा गर्न युवा, नागरिक समाज तथा आम नागरिकलाई आग्रह गरेका छन्।
लामिछानेले आन्दोलनबाट उठेको नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। उनले विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट रास्वपा विचलित नहुने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।



