काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद क्रान्तिशिखा धिताल ले सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले अपनाएको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
उनले सुकुम्बासीहरूको व्यवस्थापन आवश्यक भए पनि सरकारले त्यसलाई संवेदनशील, योजनाबद्ध र जिम्मेवार ढंगले अघि बढाउन नसकेको आरोप लगाएकी छन्।
सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै धितालले सडकमा देखिएका सुकुम्बासीका पीडालाई राज्यले गम्भीर रूपमा लिनुपर्ने बताएकी हुन्।
उनले प्रश्न गर्दै भनेकी छन्, “सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो। तर के यो हाम्रो वाचापत्रअनुसार भयो? के अभिभावकीय राज्य यस्तै हुन्छ?”
धितालले व्यवस्थापन प्रक्रिया आवश्यक संवेदनशीलता, योजना र जिम्मेवारीका साथ अघि बढाइनुपर्ने भए पनि त्यसो हुन नसकेको बताउँदै यसले राज्यको कमजोरी र असक्षमता उजागर गरेको टिप्पणी गरेकी छन्।



