काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले आज शपथ ग्रहण गर्दै औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने भएको छ। शपथ ग्रहणसँगै पार्टीको नयाँ केन्द्रीय समितिले पहिलो बैठक बस्दै आगामी संगठनात्मक कार्ययोजना अघि बढाउने तयारी गरेको छ।
गत महाधिवेशनबाट निर्वाचित ९९ केन्द्रीय सदस्य र ७ पदाधिकारीलाई आज पार्टी केन्द्रीय कार्यालय चःमतिमा शपथ गराइने कार्यक्रम तय गरिएको छ। शपथपछि बस्ने पहिलो बैठकले बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यको मनोनयन प्रक्रिया सुरु गर्नेछ।
रास्वपाको विधानअनुसार १५८ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना निर्वाचनबाट चयन भएका छन् भने बाँकी सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ। त्यसैगरी, १९ पदाधिकारीमध्ये सभापतिसहित ७ जना निर्वाचित भएका छन् भने बाँकी पदाधिकारी मनोनयनमार्फत चयन गरिनेछन्।
पार्टीले पछिल्लो समय आफूमा समाहित भएका विभिन्न राजनीतिक समूहलाई नेतृत्व संरचनामा समेट्ने रणनीतिअनुसार मनोनयन प्रक्रियालाई प्राथमिकता दिएको छ। यही व्यवस्थाअनुसार नयाँ नेतृत्वले संगठन विस्तार, आन्तरिक एकता सुदृढीकरण तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।
आजको बैठकले मनोनयनका मापदण्ड, जिम्मेवारी बाँडफाँट र पार्टीको आगामी कार्यक्रमबारे समेत प्रारम्भिक छलफल गर्ने सम्भावना रहेको छ।



