राष्ट्रिय सभामा रेणु चन्दको प्रश्न– ‘नयाँ भएको नाममा सरकारलाई कहिलेसम्म छुट दिने?’

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीकी सांसद रेणु चन्दले वर्तमान सरकारको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाएकी छन्।

सरकार गठन भएको चार महिना बितिसक्दा पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै उनले बिहीबार राष्ट्रिय सभा बैठकमा सरकारको आलोचना गरेकी हुन्।

चन्दले सरकारले पूरा गर्न नसकिने आश्वासन दिएर जनतालाई भ्रमित बनाएको आरोप लगाइन्। उनले स्वास्थ्य बीमाको पछिल्लो अवस्था तथा केदारनाथ पराजुली दम्पतीको आत्मदाह (जलसमाधि) जस्ता गम्भीर विषयमा समेत सरकारको ध्यानाकर्षण गराइन्।

‘१०० दिनमा युवाहरूलाई स्वदेश फर्काउने र रोजगारी दिने भनिएको थियो, तर परिणाम शून्य छ,’ उनले भनिन्, ‘दरबार हत्याकाण्डदेखि निर्मला पन्त प्रकरणसम्मका मुद्दाहरू चुट्कीको भरमा समाधान गर्छौँ भन्नेहरूले अहिले के गरिरहेका छन्?’

जनतालाई झुटा आश्वासन दिएर प्रश्न उठाउँदा उल्टै हप्काउने काम भइरहेको भन्दै उनले सरकारको आलोचना गरिन्।

‘तपाईंहरूको असक्षमताको भारी हामी बोक्दैनौँ,’ चन्दले भनिन्।

सरकारले आफ्नो असक्षमता लुकाउन विगतका सरकारलाई दोष दिएर उम्किन नमिल्ने उनको भनाइ थियो। ‘नयाँ’ र ‘जान्ने’ भनेर आएका राजनीतिक शक्तिहरूले आफूहरू सिक्दै गरेको भन्दै जिम्मेवारीबाट पन्छिन नमिल्ने उनले बताइन्।

‘जान्नेलाई छान्ने नारा दिएर आएकाहरूले अहिले प्रविधिको ज्ञान र जादुमयी क्षमता भएको दाबी गर्ने तर काम गर्ने बेला सिक्दै छौँ भनेर उम्किन मिल्दैन,’ उनले भनिन्, ‘नयाँ हुनु तपाईंको तागत हो कि कमजोरी? नयाँ भएको नाममा सरकारलाई कहिलेसम्म विशेष छुट दिइरहने?’

सरकारलाई धेरै समय छुट दिन नसकिने चेतावनी दिँदै चन्दले जनताका आधारभूत आवश्यकता पूरा गर्न नसक्ने सरकारले विगतका सरकारसँग लामो समयको हिसाब माग्नुको नैतिक आधारमाथि समेत प्रश्न उठाइन्।

‘जनतालाई आधा सिलिण्डर ग्यास दिन नसक्नेले कुन नैतिकताले हामीसँग ३५ वर्षको हिसाब माग्छ?’ उनले प्रश्न गरिन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin