काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दैछ। बैठकमा सरकारका तर्फबाट वार्षिक प्रतिवेदन तथा संसदीय समितिका अध्ययन प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ। साथै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ प्रस्तुत गर्नेछन्।
यसैदिन संघीय संसद्का चार संसदीय समितिको बैठक पनि बस्दैछ। बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल हुनेछ भने सोही समयमा बस्ने महिला तथा सामाजिक मामिला समितिले साइबर सुरक्षासम्बन्धी विषयमा छलफल गर्नेछ।
त्यस्तै, अपराह्न १ बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफललाई निरन्तरता दिइनेछ। अपराह्न २ बजे बस्ने लेखा समितिको बैठकमा प्राप्त उजुरीहरूमाथि छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।



