भदौ, काठमाडौं । बाढी प्रभावित नागरिकलाई अस्थायी बासस्थान उपलब्ध गराउन स्थानीय सरकारले केन्द्र सरकारसमक्ष ८ स्थान प्रस्ताव गरेको छ।
प्रधानमन्त्री बालेन शाहले सोमबार बाढी प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुखहरूसँग गरेको छलफलका क्रममा नुवाकोटको विदुर नगरपालिकाले पुनर्स्थापना तथा पुनर्निर्माणको विस्तृत कार्ययोजना प्रस्तुत गरेको हो।
मेयर राजन श्रेष्ठले प्रस्तुत गरेको प्रस्ताव प्रधानमन्त्रीले स्वीकार गर्दै संघीय सरकारले सोही आधारमा रणनीति बनाउने बताएका छन्।
विदुर नगरपालिकाले वेत्रावती क्षेत्रका लागि सुहाँरा डाँडा, तुप्चे–सोले–अक्करे–छिपीटार क्षेत्रका लागि भित्रिनीटार तथा नेपाल विद्युत् प्राधिकरणको जग्गा प्रस्ताव गरेको छ। त्यस्तै भैँसे क्षेत्रका लागि कान्नले सेरोफेरो, एक नम्बर पुल क्षेत्रका लागि गर्खुटार वडा कार्यालय क्षेत्र र सिलटट्याङ्की–बिजुरा क्षेत्रका लागि राहुलटार प्रस्ताव गरिएको छ।
त्रिशूली–ढुंगे क्षेत्रका लागि कोलनीस्थित नेपाल विद्युत् प्राधिकरणको जग्गा, सिमचौर बस्तीका लागि धापखेत तथा देविघाट क्षेत्रका लागि चन्द्रज्योति माध्यमिक विद्यालय र आयुर्वेद भवनमा अस्थायी बासस्थान बनाउन प्रस्ताव गरिएको नगरपालिकाले जनाएको छ।
दीर्घकालीन पुनर्वासमा ‘एक वडा, एक स्मार्ट सिटी’ प्रस्ताव
विदुर नगरपालिकाले दीर्घकालीन रूपमा प्रत्येक वडामा सुरक्षित पुनर्वासको व्यवस्था गर्न ‘एक वडा, एक पुनर्वास स्मार्ट सिटी’को अवधारणा अघि सारेको छ।
बाढी प्रभावित नदी बहाव क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन गरी जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न जग्गा सट्टापट्टाको कानुनी व्यवस्था गर्न पनि नगरपालिकाले सरकारसँग माग गरेको छ।
नगरपालिकाले वन क्षेत्रअन्तर्गत रहेको १ हजार १५८ रोपनी जग्गासमेत पुनर्वासका लागि प्रस्ताव गरेको छ। अन्य वडामा आवश्यक जग्गा प्राप्त गरी सुरक्षित आवाससहित स्मार्ट सिटी निर्माण गर्ने योजना पनि अघि सारिएको छ।
नगरपालिकाका अनुसार विदुरमा बाढीबाट ३ हजार २ सय जनाको उद्धार गरिएको छ भने ३ सय ९७ जनाको मृत्यु तथा बेपत्ता भएको विवरण छ। बाढीबाट १ हजार ७ सय ५० घरमा क्षति पुगेको तथा १ हजार १६० हेक्टर जमिन प्रभावित भएको जनाइएको छ।
नगरपालिकाको अनुमानअनुसार उद्योग क्षेत्रमा मात्रै करिब ३ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ। प्रभावित नागरिकको व्यवस्थापनका लागि विदुर नगरपालिकामा २० वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ।



