घरजग्गा कारोबारमा सुधार, तेस्रो त्रैमाससम्म ६.४२ प्रतिशतले वृद्धि

काठमाडौं — चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म घरजग्गा कारोबारमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल घरजग्गा कारोबारको संख्या ६.४२ प्रतिशतले बढेको हो।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म भने यस्तो कारोबार ४.५२ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा घरजग्गा कारोबारअन्तर्गत लिखत पारितको संख्या पनि ०.६२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा लिखत पारित कारोबार ६.७१ प्रतिशतले घटेको थियो।

त्यस्तै, लिखत पारितअन्तर्गत राजीनामा कारोबारको संख्या १२.१७ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासमा भने यस्तो कारोबार ३.२६ प्रतिशतले घटेको थियो।

कारोबार भएको कुल क्षेत्रफलमा समेत सामान्य सुधार देखिएको छ। समीक्षा अवधिमा कुल क्षेत्रफल १.६० प्रतिशतले बढेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा १०.८४ प्रतिशतले घटेको थियो।

कारोबार मूल्य र राजस्वमा वृद्धि

मूल्यका आधारमा घरजग्गा कारोबारमा उल्लेखनीय वृद्धि भएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कुल १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार १ खर्ब ७ अर्ब रुपैयाँमा सीमित थियो।

घरजग्गा कारोबारबाट सरकारको राजस्व संकलनसमेत बढेको छ। समीक्षा अवधिमा यस क्षेत्रबाट उठेको राजस्व २३.७२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा राजस्व वृद्धि १३.४७ प्रतिशत थियो।

यस्तै, घरजग्गा कारोबारबाट संकलन हुने पुँजीगत लाभकर ३१.४२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो लाभकर वृद्धि १८.३१ प्रतिशत रहेको थियो।

घरजग्गा कर्जा वृद्धिमा सुस्तता

घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा भने अघिल्लो वर्षको तुलनामा केही सुस्त देखिएको छ।

समीक्षा अवधिमा आवासीय घरजग्गा कर्जासहित यस क्षेत्रमा प्रवाह भएको बैंक कर्जा ५.५५ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा यस्तो कर्जा वृद्धि ७.५२ प्रतिशत थियो।

प्रदेशगत अवस्था

कारोबार भएको कुल क्षेत्रफलका आधारमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै २४.८४ प्रतिशत वृद्धि देखिएको छ भने मधेश प्रदेशमा ९.३३ प्रतिशतले कमी आएको छ।

सातवटै प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य भने अघिल्लो वर्षको तुलनामा बढेको छ। बागमती प्रदेशमा सबैभन्दा धेरै १३१.५२ प्रतिशत र मधेश प्रदेशमा सबैभन्दा कम २२.६७ प्रतिशतले कारोबार मूल्य वृद्धि भएको छ।

प्रदेशगत विवरणअनुसार अधिकांश स्थानमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढी कारोबार भएका छन्। अघिल्लो आर्थिक वर्षमा मधेश प्रदेशमा भने २० आनाभन्दा बढी क्षेत्रफलका प्लटहरूको कारोबार बढी भएको थियो। अन्य प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका जग्गा नै बढी कारोबार भएका थिए।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin