रास्वपाले ११ समिति सभापति उम्मेदवार टुंग्यायो, शुक्रबार निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाका १० विषयगत समिति र एक संयुक्त समितिका लागि सभापति उम्मेदवार टुंगो लगाएको छ। समितिका सभापतिहरू चयनका लागि शुक्रबार निर्वाचन हुने तय भएको छ भने उम्मेदवारी दर्ताको समय आज अपराह्न ४ बजेसम्म तोकिएको छ।

बिहीबार बसेको संसदीय दलको बैठकले ११ जना उम्मेदवार चयन गरेको हो। सार्वजनिक लेखा समिति भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने निर्णय गरिएको रास्वपाले जनाएको छ।

बैठकअघि रास्वपा सभापति रवि लामिछाने र दलका नेता तथा प्रधानमन्त्री बालेन शाहबीच छुट्टै छलफल भएको थियो। सो छलफलबाट समितिका सभापति उम्मेदवारसहित मुख्य सचेतक र सचेतकहरू समेत टुंगो लगाइएको हो।

मुख्य सचेतकमा गोरखा–२ बाट निर्वाचित सांसद तथा महामन्त्री कविन्द्र बुर्लाकोटी चयन भएका छन्। सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल नियुक्त भएका छन्।

रास्वपाले विभिन्न समितिमा विषयअनुसार उम्मेदवार अघि सारेको जनाएको छ। कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, कृषि तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी उम्मेदवार बनेका छन्।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजश्वी शेरचन, संसदीय सुनुवाइ विशेष समितिमा बोधनारायण श्रेष्ठ उम्मेदवार रहेका छन्।

उद्योग वाणिज्य तथा श्रम उपभोक्ता हित समितिमा रहबर अन्सारी, राज्यका निर्देशक सिद्धान्तसम्बन्धी समितिमा गणेश कार्की, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास र अर्थ समितिमा कृष्णहरि बुढाथोकी उम्मेदवार बनाइएको छ।

रास्वपाका १८२ सांसद प्रतिनिधिसभामा रहेकाले उनीहरूले अघि सारेका उम्मेदवार निर्वाचित हुने लगभग निश्चित मानिएको छ। पार्टीले अनुभव, विषयविज्ञता र समावेशीतालाई ध्यानमा राखेर उम्मेदवार छनोट गरेको जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin

FB News Card