संसदमा प्रतिपक्षको प्रश्न– ‘प्रधानमन्त्री र गृहमन्त्री कहाँ छन्?’

काठमाडौं । सुनसरीको देवानगन्जमा भएको घटनालाई लिएर प्रतिपक्षी दलहरूले प्रतिनिधिसभामा सरकारको कडा आलोचना गर्दै प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङको भूमिकामाथि प्रश्न उठाएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीलगायतका प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्री र गृहमन्त्री तत्काल संसदमा उपस्थित भई घटनाबारे स्पष्ट जानकारी दिनुपर्ने माग गरे।

प्रतिपक्षी सांसदहरूले देशको सुरक्षा र सामाजिक सद्भावसँग जोडिएको संवेदनशील घटनापछि १४ दिनपछि बसेको संसद बैठकमा पनि प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित रहनु गैरजिम्मेवार भएको टिप्पणी गरे। विगतमा यस्तै घटनामा तत्कालीन सरकारसँग राजीनामा माग्ने वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले अहिले नैतिक तथा राजनीतिक जिम्मेवारी लिनुपर्ने कि नपर्ने भन्ने प्रश्न पनि उनीहरूले उठाए।

उनीहरूले सुनसरीसहित पूर्वी नेपालमा बढ्दो तनाव अन्त्य गर्न सरकारले संवाद, विश्वास र सामाजिक सद्भावको वातावरण बनाउनुपर्नेमा त्यसतर्फ कुनै ठोस पहल नगरेको आरोप लगाए। बल प्रयोग मात्र गरेर समस्या समाधान गर्न खोजिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरे।

नेकपा एमालेकी सांसद पद्मा अर्यालले विगतमा प्रहरीको गोलीबाट ज्यान जाँदा तत्कालीन सरकारसँग जबाफदेहिता माग्ने वर्तमान नेतृत्व अहिले मौन बसेको भन्दै प्रश्न गरिन्। उनले सरकारले शान्ति, सुरक्षा र जनविश्वास कायम गर्ने स्पष्ट योजना ल्याए प्रतिपक्ष सहयोग गर्न तयार रहेको पनि बताइन्।

नेपाली कांग्रेसकी प्रमुख सचेतक बास्ना थापाले सुनसरी घटनापछि सरकार मौन बसेको आरोप लगाउँदै प्रधानमन्त्रीले काठमाडौं महानगरका मेयर हुँदा व्यक्त गरेको संवेदनशीलता अहिले प्रधानमन्त्री बनेपछि किन हरायो भन्ने प्रश्न उठाइन्।

नेकपाका सांसद गोपाल शर्माले पनि प्रधानमन्त्री संसदमा उपस्थित भएर घटनाको यथार्थ सार्वजनिक गर्नुपर्ने माग गरे। उनले गृहमन्त्रीको सार्वजनिक अभिव्यक्तिमाथि समेत प्रश्न उठाउँदै सरकारले नै घटनाको जिम्मेवारी लिनुपर्ने बताए।

राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत प्रहरीको गोलीबाट मृत्यु भएको उल्लेख गरेको विषयमा प्रश्न उठाउँदै गोली चलाउने आदेश कसले दिएको हो भन्ने यथार्थ सार्वजनिक गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरिन्।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारले संकटका बेला नेतृत्वदायी भूमिका खेल्न नसकेको आरोप लगाउँदै बल प्रयोगले समस्या समाधान नहुने बताए। उनले सबै राजनीतिक दल र नागरिकलाई संयमता अपनाउँदै राष्ट्रिय एकता कायम राख्न पनि आग्रह गरे।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin