काठमाडौं । कानुन व्यवसायीहरूले अब पुनः आफ्नो परिचयपत्रकै आधारमा सिंहदरबार प्रवेश गर्न पाउने भएका छन्।
आइतबारदेखि लागू गरिएको गेट पास अनिवार्य व्यवस्थाप्रति विरोध भएपछि सुरक्षा निकायले उक्त निर्णय फिर्ता लिएको हो। यसअघि कानुन व्यवसायीहरू बिना अवरोध परिचयपत्रकै आधारमा सिंहदरबार प्रवेश गर्दै आएका थिए।
नेपाल बार एसोसिएसन लगायतका कानुन व्यवसायीहरूले विरोध जनाएपछि पुरानै व्यवस्था कायम गरिएको बारका महासचिव केदारप्रसाद कोइराला ले जानकारी दिए।
‘सुरक्षा निकायले फेरि परिचयपत्रकै आधारमा प्रवेश मिल्ने जानकारी गराएको छ,’ उनले भने।
यद्यपि, सरकारले सिंहदरबार प्रवेश व्यवस्थापनका लागि नयाँ मापदण्ड बनाउने तयारी गरिरहेको समेत उनले बताए।
यसअघि प्रवेशमा रोक लगाएपछि बारले सहजीकरणका लागि प्रधानमन्त्री बालेन शाहलाई पत्रसमेत पठाएको थियो।



