सामाजिक सुरक्षा कोषबाट घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण पाइने

काठमाडौं, २९ असार — सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई घडेरी खरिदसहित घर निर्माण तथा आवाससम्बन्धी प्रयोजनका लागि १ करोड ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।

कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार घडेरी खरिदका लागि अधिकतम ऋण सीमा १ करोड ५० लाख रुपैयाँ तोकिएको भए पनि वास्तविक ऋण रकम भने योगदानकर्ताको तलब, धितोको मूल्यांकन र ऋण तिर्न सक्ने क्षमताका आधारमा निर्धारण हुनेछ।

उनका अनुसार योगदानकर्ताले अधिकतम सीमा बराबरको ऋण लिनका लागि धितो र आम्दानीले सो रकम धान्न सक्ने हुनुपर्नेछ।

यस ऋणको वार्षिक ब्याजदर ६ प्रतिशत तोकिएको छ। योगदानकर्ताले आफ्नो १५ वर्षको तलब बराबर रकम वा ६० वर्ष उमेर पुग्न बाँकी अवधिको तलबमध्ये जुन कम हुन्छ, त्यही सीमाभित्र रहेर ऋण लिन सक्नेछन्।

ऋणको मासिक किस्ता भने योगदानकर्ता वा दम्पतीको संयुक्त आम्दानी तथा अन्य नियमित आम्दानीको ६० प्रतिशतभन्दा बढी नहुने गरी निर्धारण गरिनेछ।

ऋण लिनका लागि योगदानकर्ताले कोषमा कम्तीमा १८ महिना नियमित योगदान गरेको हुनुपर्नेछ। साथै, कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको र अवकाश हुन कम्तीमा दुई वर्ष सेवा अवधि बाँकी रहेको हुनुपर्नेछ।

कोषले घडेरी तथा जग्गा खरिदका अतिरिक्त घर निर्माण, नयाँ घर खरिद, घरमा तला थप्ने, मर्मत गर्ने र अपार्टमेन्ट खरिदका लागि समेत ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ।

घर कर्जाको ब्याजदर भने वार्षिक ५.८५ प्रतिशत कायम गरिएको छ। कोषले गत वैशाख ४ गतेदेखि यस्तो कर्जा प्रवाह सुरु गरेको हो।

ऋण लिनका लागि घर वा जग्गा धितो राख्नुपर्नेछ। धितो योगदानकर्ताको आफ्नै वा एकाघर परिवारको नाममा रहेको घरजग्गा हुनुपर्ने व्यवस्था छ। धितोको मूल्यांकन र कानुनी परीक्षणपछि मात्रै ऋण स्वीकृत गरिने कोषले जनाएको छ।

तर सबै प्रकारका सम्पत्ति धितोका रूपमा स्वीकार गरिने छैन। गुठीमा दर्ता भएको, मोहीयानी हक लागेको, विवादित, नक्सापास नभएको, पुरानो नक्सापास भएको, हकदाबी अवधि ननाघेको तथा हाइटेन्सन लाइन वा खोलाको मापदण्ड नपुगेका घरजग्गालाई धितो मानिने छैन।

घर निर्माणका लागि ऋण लिन कम्तीमा डिपिसी (DPC) तहसम्म निर्माण सम्पन्न भएको हुनुपर्नेछ। घर निर्माणका लागि कम्तीमा १० फिट र जग्गा खरिदका लागि कम्तीमा १३ फिट चौडाइको बाटो पुगेको हुनुपर्ने मापदण्ड तोकिएको छ।

महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा साढे दुई आनाभन्दा कम तथा गाउँपालिका क्षेत्रमा चार आनाभन्दा कम जग्गा खरिदका लागि ऋण उपलब्ध नहुने व्यवस्था गरिएको छ।

जग्गा खरिदका लागि स्वीकृत ऋणको पहिलो किस्ता ६ महिनाभित्र प्रयोग नगरे स्वीकृति स्वतः रद्द हुनेछ। पहिलो किस्ता लिएको मितिले दुई वर्षभित्र स्वीकृत सम्पूर्ण ऋण उपयोग गरिसक्नुपर्ने व्यवस्था पनि गरिएको छ।

सहुलियतपूर्ण ब्याजदर र लामो भुक्तानी अवधिका कारण घर तथा जग्गा खरिदको योजना बनाएका योगदानकर्ताका लागि यो सुविधा उपयोगी हुने अपेक्षा कोषले गरेको छ। सुविधा लिन इच्छुक योगदानकर्ताले सामाजिक सुरक्षा कोषमा आवेदन दिन सक्नेछन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin