काठमाडौँ । सम्पत्ति विवाद चर्किएपछि गृहमन्त्री सुधन गुरूङले बुधबार पदबाट राजीनामा दिएका छन्। मन्त्री नियुक्त हुनुअघि नै धनकुटामा ठूलो परिमाणमा जग्गा खरिद गरेको तथ्य बाहिरिएपछि उनी विवादमा परेका थिए।
धनकुटाको साँघुरीगढी गाउँपालिका–६ स्थित कार्कीछाप क्षेत्रमा गुरूङले करिब २० रोपनी जग्गा चैत ११ गते वारेसमार्फत आफ्नो नाममा पास गराएका थिए। मालपोत कार्यालयका अनुसार उक्त जग्गा प्रतिरोपनी १७ हजार रुपैयाँको सरकारी मूल्यांकनमा किनबेच भएको देखाइएको छ, जसअनुसार कुल मूल्य करिब ६ लाख ९० हजार रुपैयाँ उल्लेख गरिएको छ।
तर स्थानीय जनप्रतिनिधि तथा व्यवसायीहरूका अनुसार सो क्षेत्रको वास्तविक बजार मूल्य भने प्रतिरोपनी ३ लाखदेखि ७ लाख रुपैयाँसम्म पर्ने गर्दछ। यस आधारमा उक्त जग्गाको वास्तविक मूल्य ६० लाखदेखि एक करोड रुपैयाँभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।
वडाध्यक्ष यमप्रसाद मगरले सिफारिस दिएको पुष्टि गरे पनि कसले किनेको भन्ने जानकारी आफूलाई नभएको बताएका छन्। उनले बाटोको पहुँच नभएको कारण सरकारी मूल्यांकन कम राखिएको जानकारी दिए।
उक्त क्षेत्र भेडेटार नजिकै पर्ने र पछिल्लो समय पर्यटकीय तथा व्यावसायिक हिसाबले आकर्षक बन्दै गइरहेको स्थानीयहरू बताउँछन्।
यसअघि गुरूङले मन्त्री बन्नुअघि नै करिब ५० दिनको अवधिमा ५० लाख रुपैयाँभन्दा बढीको सेयर खरिद गरेको विवरण सार्वजनिक भइसकेको छ। तर सो लगानीको स्रोत स्पष्ट पार्न नसक्दा उनीमाथि थप प्रश्न उठेका हुन्।
व्यापारी दीपक भट्टसँगको सम्बन्ध, साझेदारी तथा सम्पत्तिको स्रोतबारे विवाद बढ्दै गएपछि अन्ततः प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेको दबाबमा गुरूङले पदबाट राजीनामा दिएका हुन्।
यस घटनाबारे थप छानबिन हुने जनाइएको छ।



