काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीलाई नेपाली मौलिकता र राष्ट्रिय पहिचान झल्किने ढाका टोपी अनिवार्य रूपमा लगाउन निर्देशन दिएका छन्।
शुक्रबार अध्यागमन कार्यालयको निरीक्षण तथा अनुगमनका क्रममा पुगेका गृहमन्त्री गुरूङले कर्मचारीलाई ढाका टोपी लगाउन निर्देशन दिएका हुन्।
अध्यागमन कार्यालयका सूचना अधिकारी अनुज भण्डारीका अनुसार मन्त्रीको निर्देशनपछि शनिबारदेखि नै केही कर्मचारीले ढाका टोपी लगाउन थालेका थिए भने आइतबारसम्म अधिकांश कर्मचारीले उक्त निर्देशन कार्यान्वयन गरिसकेका छन्।
भण्डारीका अनुसार नेपाल प्रवेश गर्ने पर्यटकले सबैभन्दा पहिले अध्यागमन कार्यालय नै देख्ने भएकाले कर्मचारीको पोसाक, व्यवहार र सेवाले देशको छवि प्रस्तुत गर्ने भन्दै गृहमन्त्रीले ढाका टोपीलाई अनिवार्य गर्न निर्देशन दिएका हुन्।



