काठमाडौं । गृहमन्त्री सुधन गुरूङले सार्वजनिक लेखा समितिमा गृहसचिव र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) माथि भएको व्यवहारप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको शुक्रबारको बैठकमा बोल्दै गृहमन्त्री गुरूङले आफ्नो अनुपस्थितिमा गृहसचिव र आइजिपीमाथि सार्वजनिक लेखा समितिमा गरिएको व्यवहारप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको बताए।
‘उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन। आरोप लगाउन पाइयो भन्दैमा चरित्र हत्या गर्न पाइँदैन,’ उनले भने, ‘यस विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ। हामी खुसी छैनौं।’
गृहमन्त्री गुरूङले आइजिपीले गृह मन्त्रालयको निर्देशनअनुसार दिनरात खटेर काम गरिरहेको र आफू त्यसको प्रत्यक्षदर्शी रहेको बताए।
‘मेरो अनुपस्थितिमा गृहसचिव र नेपाल प्रहरीका आइजिपीलाई जुन व्यवहार सार्वजनिक लेखा समितिमा भयो, त्यसमा मेरो ध्यानाकर्षण भएको छ। यो राम्रो भएन,’ उनले भने।
सार्वजनिक लेखा समितिमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले गृहसचिव र आइजिपीमाथि गरेको व्यवहारलाई लिएर आलोचना भइरहेको छ।



