होल्डिङ सेन्टरमा रहेका १२५ सुकुमवासीलाई सीपमूलक तालिम दिएर रोजगारीमा जोड्ने तयारी

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई सीपमूलक तालिम प्रदान गरी रोजगारीसँग आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई आत्मनिर्भर बनाउन आवश्यक तालिम सञ्चालन गर्ने र रोजगारीका अवसरसँग जोड्ने निर्णय गरेको हो।

बैठकमा भक्तपुरका खरिपाटी, बोडे र चाँगुनारायण, काठमाडौंको रानीवन तथा काभ्रेपलाञ्चोकको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका १२५ जना सुकुमवासीमाथि गरिएको रोजगारी तथा तालिम आवश्यकता मूल्यांकनको नतिजामाथि छलफल गरिएको थियो।

मूल्यांकनका क्रममा उनीहरूमा विभिन्न क्षेत्रमा काम गर्ने रुचि र सम्भावना देखिएको मन्त्रालयले जनाएको छ। सरसफाइ, माली, साना व्यवसाय सञ्चालन, सुरक्षा गार्ड, हाउसकिपिङ, ड्राइभिङ, पेन्टिङलगायतका क्षेत्रमा रोजगारी गर्न इच्छुक व्यक्तिहरू पहिचान भएका छन्।

उनीहरूलाई लक्षित गरी पूर्वाधार विकास मन्त्रालय, सडक विभाग तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग समन्वय गरी तालिम प्रदायक संस्थामार्फत आवश्यक सीप विकास तालिम सञ्चालन गरिने भएको छ।

बैठकले तालिमपछि सहभागीलाई उपयुक्त रोजगारीका अवसरसँग जोड्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

मन्त्री यादवले सुकुमवासीलाई राहतमा मात्र सीमित नराखी सीप विकासमार्फत रोजगारी र आत्मनिर्भरतासँग जोड्नुपर्नेमा जोड दिएका छन्। उनले यस विषयलाई सम्बन्धित सबै निकायले उच्च प्राथमिकतामा राखेर प्रभावकारी पहल गर्न निर्देशन दिएका छन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin