अस्पतालको वाइफाई चलाउन नदिएको भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट, ३ जना पक्राउ

सुर्खेत । अस्पतालको वाइफाई चलाउन नदिएको भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अस्पतालमा तोडफोड गरेको आरोपमा कालिकोट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

शुक्रबार पलाँता गाउँपालिका–९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि हातपात र दुर्व्यवहार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरू अस्पतालमा अनधिकृत रूपमा प्रवेश गरी चिकित्सक तथा नर्समाथि अभद्र व्यवहार गर्नुका साथै अस्पतालका सामानमा तोडफोड गर्ने घटनामा संलग्न थिए।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी सुरेश खत्रीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।

शुक्रबार दिउँसो करिब १ बजे १४ र १५ वर्षका एकाघरका दुई भाइ अस्पतालको वाइफाईमा मोबाइल कनेक्ट गरी ओपीडी नजिकै गेम खेलिरहेका थिए। चिकित्सकले अस्पताल परिसरबाहिर गएर मोबाइल चलाउन भनेपछि उनीहरू र चिकित्सकबीच विवाद भएको प्रहरीले जनाएको छ।

विवाद बढ्दै गएपछि ती दुई किशोरका परिवारका अन्य सदस्यसमेत घटनास्थलमा पुगेका थिए। त्यसक्रममा चिकित्सकमाथि कुटपिट तथा अस्पतालमा तोडफोड भएको प्रहरीको भनाइ छ।

घटनामा संलग्न अन्य व्यक्तिबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin