टिकटकले आफ्ना कन्टेन्ट क्रिएटरहरूका लागि ‘क्रिएटर हेल्थ रेटिङ’ (CHR) नामक नयाँ र कडा नियम पूर्ण रूपमा लागू गरेको छ, जसले गर्दा अब भिडियो बनाउँदा सामान्य लापरवाही गर्दा पनि एकाउन्ट नै प्रतिबन्ध (Banned) हुने जोखिम बढेको छ। यस प्रणाली अन्तर्गत प्रत्येक प्रयोगकर्तालाई २०० देखि १००० सम्मको स्कोर दिइनेछ, जसले उनीहरूको एकाउन्टको ‘स्वास्थ्य’ निर्धारण गर्नेछ। यदि कुनै क्रिएटरले टिकटकको नीति नियम (Community Guidelines) उल्लंघन गरेमा उनीहरूको अंक घट्दै जानेछ र स्कोर धेरै कम भएमा भिडियोको ‘Reach’ रोकिने वा स्थायी रूपमा एकाउन्ट बन्द हुनेछ।
नेपालमा टिकटकमाथिको प्रतिबन्ध हटेसँगै प्रयोगकर्ताको संख्या निकै बढेको बेला यो नयाँ नियमले धेरैलाई सचेत गराएको छ। विशेषगरी भ्रामक सूचना, अश्लीलता वा प्रतिलिपि अधिकार (Copyright) उल्लंघन गर्नेहरूका लागि यो प्रणाली निकै घातक सावित हुन सक्छ। अब टिकटकले केवल भिडियोको भ्यूज मात्र नभई क्रिएटरको व्यवहार र नियम पालनाको स्तरलाई पनि प्राथमिकतामा राखेको छ।
स्कोर घट्ने मात्र होइन, बढाउने विकल्प पनि छ
यस प्रणालीको एउटा रोचक पक्ष भनेको ‘रिकभरी’ को सुविधा हो। यदि तपाईंको स्कोर कुनै कारणवश घटेको छ भने, तपाईंले टिकटकले उपलब्ध गराउने विभिन्न ‘क्विज’ (प्रश्नोत्तर) हरूमा भाग लिएर र सही जवाफ दिएर आफ्नो घटेको अंक पुनः प्राप्त गर्न सक्नुहुन्छ। यसका साथै, लगातार केही समयसम्म कुनै पनि नियम उल्लंघन नगरी गुणस्तरीय र सुरक्षित कन्टेन्ट पोस्ट गरिरहेमा पनि तपाईंको स्कोर बिस्तारै बढ्दै जाने व्यवस्था गरिएको छ।
टिकटकले यो कदम प्लेटफर्ममा फैलिरहेका अनावश्यक र असुरक्षित कन्टेन्टलाई नियन्त्रण गर्न चालेको बताएको छ। यसले गर्दा अब भाइरल हुनका लागि मात्र जे पायो त्यही भिडियो हाल्ने प्रवृत्तिमा कमी आउने र गुणस्तरीय कन्टेन्ट क्रिएटरहरूलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ। नेपाली क्रिएटरहरूले अब आफ्नो ‘हेल्थ रेटिङ’ जोगाउन भिडियो पोस्ट गर्नुअघि टिकटकका नयाँ सर्तहरूलाई राम्ररी बुझ्न जरुरी देखिएको छ।



