काठमाडौं — सन् २०२६ को जुन महिनामा नेपालमा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्ड (एनटिबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार हवाईमार्गबाट नेपाल आउने पर्यटकको संख्या गत वर्षको सोही अवधिको तुलनामा १९.५ प्रतिशतले बढेको हो।
गत वर्षको जुन महिनामा ७६ हजार ४२५ विदेशी पर्यटक नेपाल आएका थिए। यस्तै, कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि भएको सन् २०१९ को जुन महिनाको ७४ हजार ८८३ पर्यटक आगमनको तुलनामा यस वर्ष २२.०१ प्रतिशतले वृद्धि भएको बोर्डले जनाएको छ।
जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली (सार्क) मुलुकबाट ४८ हजार २५४ जना आएका छन्, जुन कुल आगमनको ५२.८ प्रतिशत हो। मुख्य स्रोत बजार भारतबाट मात्रै ४१ हजार ८०९ पर्यटक नेपाल आएका छन्।
अन्य एसियाली मुलुकबाट १६ हजार १५२ पर्यटक नेपाल आएका छन्। तीमध्ये चीनबाट ८ हजार ८७५, जापानबाट २ हजार ४९७, दक्षिण कोरियाबाट १ हजार ७६५ र थाइल्यान्डबाट ९८४ जना रहेका छन्।
युरोपेली मुलुकमध्ये बेलायतबाट २ हजार ५००, जर्मनीबाट ५५७ र फ्रान्सबाट ५०२ पर्यटक नेपाल आएका छन्।
अमेरिका महादेशबाट कुल १३ हजार ११९ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको उल्लेखनीय हिस्सा हो। यसमध्ये संयुक्त राज्य अमेरिकाबाट ११ हजार ८३६, क्यानडाबाट १ हजार ११, ब्राजिलबाट १४० र मेक्सिकोबाट १३२ जना पर्यटक नेपाल आएका छन्।
त्यसैगरी, ओसियानिया क्षेत्रबाट ३ हजार ९० जना पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको तुलनामा ५६.३५ प्रतिशत र सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशतले बढी हो। यस क्षेत्रमा अष्ट्रेलियाबाट २ हजार ८९६ तथा न्यूजिल्यान्डबाट १९४ पर्यटक नेपाल आएका छन्।
यस अवधिमा अफ्रिकाबाट २९२ तथा मध्यपूर्वबाट ६७४ जना पर्यटक नेपाल आएका छन्।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाले पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन अभियान, प्रमुख स्रोत बजारमा गरिएको प्रचारप्रसार तथा नेपालको सुरक्षित र आकर्षक गन्तव्यको छविका कारण पर्यटक आगमनमा निरन्तर सुधार देखिएको बताए।
बोर्डले आगामी पर्यटन सिजनलाई लक्षित गर्दै भारत, चीन, अमेरिका, युरोप तथा अन्य प्रमुख स्रोत बजारमा थप पर्यटन प्रवर्द्धनात्मक गतिविधि सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।



