कार्यक्रममा बोल्दै गरेका एनभिडिया सिइओलाई ट्रम्पको फोन- एआईको जोखिमबारे चिन्ता झुटो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकासको गति सुस्त बनाउनुपर्ने बहसको विरोध गरेका छन्।

सोमबार लस एन्जलसमा आयोजित ‘अल-इन समिट’मा एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङसँग फोनमा कुराकानी गर्दै ट्रम्पले एआई विकास रोक्ने वा सुस्त बनाउने प्रयास राजनीतिक स्वार्थबाट प्रेरित हुन सक्ने बताएका हुन्।

कार्यक्रममा प्यानल छलफल चलिरहेका बेला हुआङलाई ट्रम्पको फोन आएको थियो। हुआङले कार्यक्रमकै मञ्चबाट ट्रम्पसँग कुराकानी गरेका थिए। ट्रम्पले एआई विकास रोक्ने प्रयासले चीनलाई समेत फाइदा पुग्न सक्ने दाबी गरेका थिए।

एआईको सम्भावित जोखिमबारे प्रविधि उद्योगभित्र बहस चर्किरहेका बेला ट्रम्पको यस्तो धारणा आएको हो। एन्थ्रोपिकका सीईओ डारियो अमोडेईले हालै एआई विकासको गति केही सुस्त बनाउनुपर्ने प्रस्ताव गरेका थिए। ओपनएआईका सीईओ साम अल्टम्यान र स्पेसएक्सका सीईओ इलन मस्कले पनि उक्त प्रस्तावलाई समर्थन गरेका थिए।

हुआङले भने एआईको तीव्र विकास र सुरक्षाबीच एउटा मात्र विकल्प रोज्नुपर्ने अवस्था सिर्जना गर्नु उचित नभएको बताएका छन्। उनले एआईको जोखिमबारे आवाज उठाउँदै राजीनामा दिएका एन्थ्रोपिकका अनुसन्धानकर्ता ज्याकोब कोक्सनको भने प्रशंसा गरेका छन्।

एआई लगानी सुस्त हुने चिन्ताले प्रविधि कम्पनीका सेयर घटे

एआईमा हुने लगानीको गति सुस्त हुन सक्ने चिन्ताका कारण सोमबार अमेरिकी प्रविधि कम्पनीका सेयरमा गिरावट आएको थियो। एनभिडियाको सेयर मूल्य ३.४ प्रतिशतले घटेको थियो।

एआई मोडल सञ्चालनका लागि आवश्यक शक्तिशाली चिपको प्रमुख आपूर्तिकर्ता एनभिडिया पछिल्ला वर्षमा एआई पूर्वाधारमा भएको ठूलो लगानीबाट लाभान्वित हुँदै आएको छ।

डेटा सेन्टर निर्माण तीव्र पार्न ट्रम्पको जोड

ट्रम्पले अमेरिकाले एआई पूर्वाधार निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन्। उनले नयाँ डेटा सेन्टर निर्माणका लागि अनुमति दिन अस्वीकार गर्ने राज्यहरूको समेत आलोचना गरेका छन्।

डेटा सेन्टरले रोजगारी र लगानी बढाउनुका साथै राज्यको आर्थिक गतिविधि विस्तार गर्ने ट्रम्पको भनाइ छ। उनले एआई पूर्वाधारलाई आगामी दशकको महत्वपूर्ण आर्थिक स्रोतका रूपमा प्रस्तुत गर्दै यसलाई आगामी २०–२५ वर्षको ‘तेल’सँग तुलना गरेका छन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin