काठमाडौँ । भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई विश्व बैंकले १७ करोड अमेरिकी डलर अर्थात् करिब २५ अर्ब रुपैयाँ बराबरको आपत्कालीन सहयोग उपलब्ध गराउने भएको छ।
अर्थ मन्त्रालयका अनुसार विश्व बैंकबाट प्राप्त हुने उक्त सहयोगमध्ये एक करोड अमेरिकी डलर तत्काल राहत तथा पुनःस्थापनाका लागि ‘र्यापिड रेस्पोन्स अपरेसन’मार्फत परिचालन गरिनेछ। बाँकी रकम प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलगायतका कार्यमा परिचालन हुने अपेक्षा गरिएको छ।
विश्व बैंकका नेपाल हेर्ने राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग समन्वय गर्दै विभिन्न स्रोतबाट करिब २५ अर्ब रुपैयाँ बराबरको आपत्कालीन सहयोग उपलब्ध गराउन सकिने जानकारी गराएका थिए। अर्थमन्त्री वाग्लेले पनि विश्व बैंकसँग उक्त आर्थिक सहायता सुनिश्चित भएको बताएका छन्।
सहयोग परिचालनका लागि सरकारले आवश्यक औपचारिक प्रक्रिया पूरा गर्नुपर्ने जनाइएको छ। सरकारले प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेपछि बाह्य सहयोग परिचालनको प्रक्रिया अघि बढ्ने आधार तयार भएको छ। राजपत्रमा आवश्यक सूचना प्रकाशनलगायत प्रक्रिया पूरा भएपछि विश्व बैंकको सहयोग परिचालन गरिनेछ।
यसअघि बाढीपीडितको उद्धार, राहत तथा अत्यावश्यक व्यवस्थापनका लागि सरकारले चालु आर्थिक वर्षको बजेटअन्तर्गत विभिन्न शीर्षकबाट करिब २० अर्ब रुपैयाँ तत्काल उपयोग गर्न सकिने जनाएको थियो।



