निवर्तमान महान्यायाधिवक्ता सबिता भण्डारीविरुद्ध सामाजिक सञ्जाल र अन्तर्वार्तामार्फत भ्रामक अफवाह फैलाएको आरोपमा अधिवक्ता युवराज सफल (पौडेल) विरुद्ध बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा मुद्दा दायर गरेको हो। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभियोग संशोधन गर्ने निर्णयलाई लिएर भण्डारीमाथि पुष्टी नभएको ‘आर्थिक लेनदेन’ को गम्भीर आरोप लगाएका थिए। महान्यायाधिवक्ताको कार्यालयले सफलले झुटो आरोप र अपशब्द प्रयोग गरी गालीगलौज गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि यो कानुनी प्रक्रिया अघि बढेको हो। हाल जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा औपचारिक रूपमा मुद्दा दर्ता गरी कानुनी कारबाहीको माग गरेको छ।




