बेलायती सेनामा कार्यरत खोटाङ, केपिलासगढी गाउँपालिका–२ का डाकमणि राईकी पत्नी मनलछी राईको एक महिनाअघि बेलायतमै निधन भएको थियो। उनको शव नेपाल ल्याई आफ्नै गाउँमा अन्तिम संस्कार गर्ने तयारी गरिएको थियो।
यसै क्रममा शव काठमाडौं ल्याएर बुधबार बिहान हेलिकप्टरमार्फत खोटाङ लैजाने योजना बनाइएको थियो। तर हेलिकप्टरमा स्थान अभावका कारण परिवारका ४ सदस्य र एक जना पास्टर गरी ५ जना मात्रै सवार हुने व्यवस्था गरिएको थियो।
एयर डाइनेस्टीको 9N-AFQ हेलिकप्टरमा मृतकका पति डाकमणि राई, छोरा बालकुमार राई, छोरी लक्ष्मी राई, आफन्त समला राई र पास्टर काजीबहादुर राई सवार थिए। पाइलट सविन थापासहित कुल ६ जना हेलिकप्टरमा थिए।
खोटाङमा अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो। अवतरणका लागि ‘H’ चिन्हसहित स्थान तयार पारिएको भए पनि हेलिकप्टर निर्धारित स्थानभन्दा केही पर अवतरण भयो। त्यसपछि अगाडि सार्ने प्रयास गर्दा हेलिकप्टर अनियन्त्रित भई भित्तामा ठोक्किँदै पल्टिएको प्रारम्भिक जानकारीमा उल्लेख छ।
दुर्घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्ट बस्नेतका अनुसार हेलिकप्टरमा आगलागी हुन सक्ने उच्च सम्भावना भए पनि आगलागी नहुँदा ठूलो मानवीय क्षति टरेको हो।
दुर्घटनामा ५० वर्षीय पास्टर काजीबहादुर राई घाइते भएका छन्। खोटाङ प्रहरीले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टर अवतरणका क्रममा असन्तुलित भई जमिनमा पल्टिएको हो। खोटाङ प्रहरीका डिएसपी प्रकाश बुढाथोकीले हावाको वेगका कारण हेलिकप्टरले सन्तुलन गुमाएको हुन सक्ने बताएका छन्।
उनका अनुसार अन्य सवार व्यक्तिहरूको अवस्था सामान्य रहेको छ भने पाइलट सविन थापाको अवस्था केही असामान्य देखिएको थियो। घाइते र पाइलटलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।
हाल घटनास्थलमा प्रहरी टोली खटिएको छ र थप अनुसन्धान भइरहेको छ।



