ललितपुर, ४ चैत
ग्वार्कोस्थित होटेल रोयल ट्युलिपको ढोका थुनिएको छ। बाहिर सुरक्षा र कौतूहलता छ, भित्र भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू ‘संसदीय चक्रव्यूह’ बुझ्न दुई दिने आवासीय अभिमुखीकरणमा व्यस्त छन्। मंगलबार उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेले घण्टी बजाएर सुरु गरेको यो प्रशिक्षण आज बुधबार एक नाटकीय मोडमा पुगेको छ।
सबैको नजर एउटै प्रश्नमा थियो— के आज सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह एउटै मञ्चमा देखिनेछन्?
हिजोको सत्रमा अनुपस्थित रहेका सभापति रवि लामिछाने आज बिहानै होटेल पुगेर माहोल तताएका छन्। उनले पार्टीको आगामी रणनीति, भित्री योजना र ‘मिसन ८४’ का गोप्य मार्गचित्रबारे सांसदहरूलाई विशेष ब्रिफिङ गर्ने तयारी गरेका छन्। प्रवक्ता मनिष झाका अनुसार, लामिछानेले आजको समापन सत्रमा पार्टीको ‘नीतिगत प्राथमिकता’ को नयाँ खाका प्रस्तुत गर्दैछन्, जसले आगामी संसदीय सत्रमा रास्वपाको भूमिकालाई पूर्ण रूपमा बदल्न सक्छ।
तर, कार्यक्रमको बीचमा एउटा अप्रत्यासित खबरले सबैलाई अचम्मित तुल्यायो। वरिष्ठ नेता बालेन शाह आजको समापन कार्यक्रममा उपस्थित नहुने निश्चित भएको छ।
पार्टी स्रोत र प्रवक्ता झाले दिएको जानकारी अनुसार, बालेन शाह ‘अस्वस्थता’ र आगामी दिनमा ‘मानसिक तथा शारीरिक रूपमा थप सक्रिय हुनुपर्ने’ कारणले कार्यक्रममा आउन नसकेका हुन्। बालेनको यो अचानकको अनुपस्थितिले राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी र सस्पेन्स पैदा गरिदिएको छ। के यो केवल स्वास्थ्यको कारण हो वा यसभित्र कुनै रणनीतिक अर्थ लुकेको छ? यो प्रश्न अहिले ग्वार्कोको होटेल परिसरमा चर्चाको विषय बनेको छ।
भित्र सांसदहरूलाई विधेयक निर्माण, संसदीय मर्यादा र सदनमा विपक्षीलाई घेर्ने ‘टेक्निकल’ कला सिकाइँदै गर्दा बाहिर भने रास्वपाको यो ‘क्लोज डोर’ मीटिंगले कस्तो राजनीतिक पराकम्पन ल्याउने हो भन्ने प्रतीक्षा भइरहेको छ। आज साँझ सभापति लामिछानेको समापन मन्तव्यसँगै यो रहस्यमयी र महत्त्वपूर्ण प्रशिक्षणको पटाक्षेप हुनेछ।



