बिहीबार सार्वजनिक टिजरमा मुख्य रूपमा एक्सन दृश्यहरूलाई केन्द्रमा राखिएको छ। विराजको भ्वाइस ओभरसँगै सुरू हुने टिजरले फिल्मको शैली र कथावस्तुबारे संक्षिप्त जानकारी दिन्छ।
अरूको आक्रमणबाट आफ्ना नजिकका व्यक्तिहरू गुमाएपछि त्यसको बदला लिन अभिनेताले गर्ने संघर्ष फिल्मको मुख्य कथा रहेको टिजरले संकेत दिन्छ।
मध्य भागमा अभिनेताले प्रतिरोध गर्दै लडाइँमा उत्रिएको दृश्यहरू देखिन्छन्। शारीरिक संघर्ष, हातहतियार प्रयोग र तीव्र मूवमेन्टले कथा-केन्द्रित संघर्षको झलक दिन्छ। संगीतको तालसँग मिलाएर ती दृश्यहरूले सस्पेन्सको अनुभूति बढाउँछ।
‘राम नाम सत्य’ मा विराजसँगै सुनील थापा, सुशील श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुषसिंह ठकुरीलगायत कलाकारहरूको अभिनय छ। टिजरमा शीर्ष सबै कलाकारहरूलाई देखाइएको छ।
यो अभिनेता सुनील थापाको छायांकनका हिसाबले अन्तिम फिल्म समेत हो।
माइकल चन्दको निर्देशनमा बनेको ‘राम नाम सत्य’ को निर्माता उपेन्द्र शाही र श्वेता विमली हुन्। माइकल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन्। मोती कार्की क्रियटिभ निर्माता हुन् भने राजेन्द्र आचार्य लाइन प्रोड्यूसर छन्।
माइकल चन्दकै कथा र पटकथा रहेको यस फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन र काला चरणको बीजीएम छ। टिजर साहिल खानले तयार पारेका हुन्।



