इरानमा शक्ति संघर्ष चर्किँदै, सर्वोच्च नेता खमेनीले राष्ट्रपति पेजेस्कियानलाई दबाब दिएको दाबी

इरानका सर्वोच्च नेता मोजताबा खमेनीले राष्ट्रपति मसुद पेजेस्कियानलाई राजीनामाको विकल्प प्रयोग नगर्न चेतावनी दिएको र इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) का कमान्डर अहमद वहिदीको अडानलाई समर्थन गरेको दाबी गरिएको छ। यससँगै इरानभित्र राजनीतिक शक्ति सन्तुलनमा नयाँ तनाव देखिएको बताइएको छ।

इजरायली प्रसारक च्यानल–१४ ले तेहरानका घटनाक्रमबारे जानकार स्रोतलाई उद्धृत गर्दै खमेनीले राष्ट्रपति पेजेस्कियानलाई पुनः राजीनामाको विकल्प नखोज्न स्पष्ट सन्देश दिएको जनाएको छ। प्रतिवेदनअनुसार यसले पेजेस्कियानले राजनीतिक दबाबका रूपमा प्रयोग गर्दै आएको राजीनामाको विकल्प कमजोर बनाएको छ।

प्रतिवेदनमा पेजेस्कियानले नेतृत्वसँग नीति सम्बन्धी मतभेदका कारण पटक–पटक राजीनामाको संकेत दिएको र गत मे महिनामा राष्ट्रिय सुरक्षा तथा विदेश नीतिसम्बन्धी निर्णय प्रक्रियाबाट आफूलाई अलग पारिएको भन्दै राजीनामा दिन खोजेको दाबी गरिएको छ।

च्यानल–१४ का अनुसार खमेनीको पछिल्लो कदमले सैन्य नेतृत्वसँग सहकार्य बलियो बनाएको छ। आईआरजीसी कमान्डर अहमद वहिदीको धारणा अहिले इरानको आधिकारिक नीतिको रूपमा स्थापित भएको र अमेरिकासँग सम्बन्धित प्रमुख निर्णयमा उनलाई निर्णायक भूमिका दिइएको दाबी गरिएको छ।

प्रतिवेदनले इरानको राजनीतिक नेतृत्व र आईआरजीसीबीचको मतभेद कम हुँदै गएको पनि उल्लेख गरेको छ। तेहरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल ठूलो नीतिगत परिवर्तन नगर्ने निष्कर्ष निकाल्दै आफ्नो रणनीतिक र आर्थिक हित सुरक्षित गर्न दबाबको नीति कायम राख्न खोजेको दाबी गरिएको छ।

यसैबीच, इरान र अमेरिकाबीचको सम्पर्क सीमित माध्यमबाट भइरहेको जनाइएको छ। रिपोर्टअनुसार इरानी विदेशमन्त्री अब्बास अराग्ची र अमेरिकी विशेष दूत स्टिभ विटकोफ तथा जारेड कुशनरबीच अप्रत्यक्ष संवाद भइरहेको छ। कतार र पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेले पनि औपचारिक वार्ता भने सुरु नभएको उल्लेख गरिएको छ।

यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौताका लागि ‘अन्तिम मौका’ दिएको चेतावनी दिएको केही समयपछि सार्वजनिक भएको हो। ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कतारको आग्रहपछि इरानविरुद्धको सम्भावित सैन्य कारबाही स्थगित गर्दै कूटनीतिक प्रयासलाई निरन्तरता दिएको बताएका थिए।

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिका ठूलो सैन्य कारबाहीका लागि तयार भए पनि कूटनीतिक पहललाई प्राथमिकता दिएको दाबी गरेका थिए। उनले इरानसँग वार्ता जारी रहेको र त्यसमा क्षेत्रीय मुलुकहरूले सहयोग गरिरहेको बताएका थिए।

ट्रम्पले इरानले सार्वजनिक रूपमा वार्ता अस्वीकार गरे पनि दुवै पक्षबीच लामो छलफल भइरहेको दाबी गर्दै कूटनीतिक प्रयास असफल भएको भए अमेरिका इरानविरुद्ध व्यापक सैन्य कारबाहीका लागि तयार रहेको बताएका थिए।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin