ट्रम्पद्वारा रुस–युक्रेनबीच ऊर्जा युद्धविराम घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने युद्धविराम तत्काल लागू हुने घोषणा गरेका छन्। तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्झौताका विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको बताएका छन्।

आइतबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले दुवै देश ऊर्जा युद्धविरामका लागि सहमत भएको बताएका हुन्। यद्यपि, रुसले उनको घोषणाबारे औपचारिक प्रतिक्रिया दिएको छैन भने युक्रेनले पनि सम्झौताका सर्त सार्वजनिक गरेको छैन।

जेलेन्स्कीले युद्धविरामको घोषणाबारे नेटोका महासचिव मार्क रुटे, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टब्सँग छलफल गरेको बताएका छन्। उनले युक्रेन युद्धविरामको पक्षमा रहेको उल्लेख गर्दै अमेरिकी पक्षबाट थप विवरणको प्रतीक्षा गरिरहेको बताएका छन्।

तर ट्रम्पको घोषणापछि पनि रुसी सेनाले युक्रेनका ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखेको जेलेन्स्कीले दाबी गरेका छन्। उनका अनुसार खार्किभस्थित ताप तथा विद्युत् उत्पादन केन्द्रमा समेत रुसी आक्रमण भएको थियो।

ट्रम्पको घोषणा युक्रेनले रुसका तेल प्रशोधन केन्द्रमा गर्दै आएका आक्रमण रोक्न अमेरिकाले दबाब बढाइरहेका बेला आएको हो। शनिबार ट्रम्पले जेलेन्स्कीलाई रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण रोक्न आग्रह गर्नुका साथै युक्रेनमा नयाँ निर्वाचन गराउनुपर्ने बताएका थिए।

यसको जवाफमा जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ६० दिन पूर्ण युद्धविराममा सहमति जनाए युक्रेनमा निर्वाचन गराउन तयार रहेको बताएका छन्। युक्रेनमा सैनिक शासन लागू रहेकाले हाल निर्वाचन गर्न कानुनी प्रतिबन्ध छ।

यसैबीच, रुसबाट डिजेल आपूर्ति गर्ने ट्रम्पको योजनाप्रति पनि जेलेन्स्कीले आलोचना गरेका छन्। यस्तो सम्झौताले रुसलाई युक्रेनमाथिको आक्रमण जारी राख्न थप आर्थिक स्रोत उपलब्ध गराउन सक्ने उनको भनाइ छ। अमेरिकी सांसदहरूले समेत उक्त योजनाप्रति असन्तुष्टि जनाएका छन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin