९ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा शरणका लागि आवेदन दिएका वा आवेदन प्रक्रियामा रहेका विदेशी नागरिकको ठूलो संख्यामा व्यापारिक तथा पर्यटकीय भिसा रद्द गर्ने तयारी गरेको छ। प्रस्तावित कदम कार्यान्वयन भए एकैपटक हुने अमेरिकी इतिहासकै सबैभन्दा ठूलो सामूहिक भिसा रद्दको घटना बन्न सक्ने बताइएको छ।
अमेरिकी विदेश विभागले बी–१ र बी–२ गैरआप्रवासी भिसा रद्द गर्ने तयारी गरेको हो। एसोसिएटेड प्रेस (एपी) ले प्राप्त गरेको विदेश विभागसम्बन्धी कागजात र दुई अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार यो कारबाहीबाट २ लाखसम्म विदेशी नागरिक प्रभावित हुन सक्छन्। तर विदेश विभागले भने रद्द हुने भिसाको निश्चित संख्या सार्वजनिक गरेको छैन।
प्रस्तावित कारबाही सन् २०१६ देखि २०२६ सम्म जारी भएका बी–१ र बी–२ भिसावाहकहरूमध्ये अमेरिकामा पुगेपछि शरणका लागि आवेदन दिएका वा हाल आवेदन प्रक्रियामा रहेका व्यक्तिमाथि केन्द्रित हुने बताइएको छ। विदेश विभागले यसका लागि गृह सुरक्षा विभागसँग समन्वय गरिरहेको जनाएको छ।
अमेरिकी विदेश विभागका प्रवक्ता टमी पिगोटले छोटो अवधिका लागि पर्यटक वा व्यावसायिक यात्रुको रूपमा अमेरिका प्रवेश गरेपछि स्थायी रूपमा बस्ने उद्देश्यले शरण आवेदन दिने व्यक्तिको गैरआप्रवासी भिसा पहिचान गरी रद्द गर्न गृह सुरक्षा विभागसँग समन्वय भइरहेको बताएका छन्। उनका अनुसार प्रक्रिया चरणबद्ध रूपमा चल्ने भएकाले रद्द हुने भिसाको संख्या परिवर्तन हुन सक्छ।
भिसा रद्द भए पनि तुरुन्तै देश निकाला नहुने
भिसा रद्द हुनुको अर्थ सम्बन्धित व्यक्तिलाई तत्काल अमेरिकाबाट निर्वासित गरिने भने होइन। एपीका अनुसार शरणसम्बन्धी मुद्दा विचाराधीन रहेका अधिकांश व्यक्तिको आप्रवासन हैसियत पुनःवर्गीकरण हुन सक्छ, तर उनीहरूले पर्यटक वा व्यापारिक यात्रुको हैसियत गुमाउनेछन्। प्रस्तावित कदम अझै अन्तिम नभएकाले यसविरुद्ध कानुनी चुनौती पनि आउन सक्ने देखिएको छ।
सामान्यतया बी–१ भिसा व्यापारिक यात्राका लागि दिइन्छ भने बी–२ भिसा पर्यटन, परिवार भेटघाट तथा उपचारलगायत प्रयोजनका लागि जारी गरिन्छ।
ट्रम्प प्रशासनको आप्रवासन नीतिमा थप कडाइ
ट्रम्पको दोस्रो कार्यकालमा अमेरिकी प्रशासनले भिसा तथा आप्रवासनसम्बन्धी नीति क्रमशः कडा बनाउँदै आएको छ। केही देशका नागरिकका लागि भिसा जारी गर्ने प्रक्रिया पूर्ण वा आंशिक रूपमा निलम्बन गरिएको छ भने आवेदकमाथि थप जाँच तथा विभिन्न नयाँ सर्त लागू गरिएको छ। अमेरिकी विदेश विभागले जनवरी १, २०२६ देखि १९ देशका नागरिकका लागि पूर्ण र अन्य १९ देशका नागरिकका हकमा आंशिक रूपमा भिसा जारी गर्ने प्रक्रिया निलम्बन गरेको जनाएको छ।
अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर लान्डोले पर्यटक वा व्यापारिक भिसामा अमेरिका प्रवेश गरेर पछि शरणका लागि आवेदन दिनुलाई आप्रवासन कानुन छल्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताएका छन्।
यसअघि पनि ट्रम्प प्रशासनले विगत १८ महिनामा करिब १ लाख ७५ हजार भिसा रद्द गरिसकेको छ। तीमध्ये आपराधिक आरोप वा मुद्दामा जोडिएका व्यक्तिका साथै अमेरिकी नीतिविरुद्ध सार्वजनिक रूपमा बोलेका केही व्यक्तिको भिसा पनि रद्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विदेश विभागले आगामी हप्ताहरूमा औपचारिक निर्णय वा थप विवरण सार्वजनिक गर्न सक्ने बताइएको छ। यदि २ लाखसम्म बी–१ र बी–२ भिसा रद्द गर्ने योजना कार्यान्वयन भयो भने यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो एकल सामूहिक भिसा रद्दको कदम हुनेछ।



