केरुङ बाढीमा नेपालीको अवस्था गम्भीर, १०४ जना बेपत्ता

काठमाडौं । चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत केरुङ काउन्टीमा आएको भीषण बाढीमा परी १०४ जना नेपाली नागरिकसहित २६१ जना विदेशी नागरिक बेपत्ता भएका छन्।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएन (CGTN) ले आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा चिनियाँ अधिकारीहरूले दिएको विवरण उद्धृत गर्दै विदेशी नागरिक बेपत्ताको तथ्यांक सार्वजनिक गरेको हो।

सार्वजनिक विवरणअनुसार बाढीपछि सम्पर्कविहीन हुने विदेशी नागरिकमध्ये सबैभन्दा धेरै नेपाली छन्। त्यसपछि भारतका ४९, लाटभियाका ३३, अमेरिकाका १८ र बेलायतका १५ जना रहेका छन्।

त्यस्तै अस्ट्रेलिया र क्यानडाका ६/६, दक्षिण अफ्रिकाका ४ तथा जर्मनी, मलेसिया र रुसका ३/३ जना बेपत्ता भएका छन्।

इस्टोनिया, फ्रान्स, आयरल्यान्ड, नेदरल्यान्ड्स र न्युजिल्यान्डका २/२ जना तथा फिनल्यान्ड, हङ्गेरी, काजाकिस्तान, लिथुआनिया, पोर्चुगल, स्पेन र युक्रेनका १/१ जना विदेशी नागरिक बेपत्ता भएको चिनियाँ अधिकारीहरूले बताएका छन्।

चिनियाँ अधिकारीहरूले बेपत्ता विदेशी नागरिकको विवरण सम्बन्धित देशका दूतावास तथा वाणिज्य दूतावासलाई जानकारी गराइसकेको बताएका छन्।

आइतबार बिहानको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार, हाल केरुङ काउन्टीमा कुनै पनि विदेशी पर्यटक अलपत्र अवस्थामा नरहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

यसअघि केरुङ आसपासको क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण नेपाल–चीन सीमापार आवतजावतसमेत प्रभावित भएको थियो। बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin