काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङको शैक्षिक क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीपछि तीन जिल्लाका २५० विद्यार्थी र १६ शिक्षक सम्पर्कविहीन वा बेपत्ता रहेको शिक्षा तथा खेलकुद मन्त्रालयको पछिल्लो विवरणले देखाएको छ।
मन्त्रालयका अनुसार सम्पर्कविहीन विद्यार्थीमध्ये २३३ जनाको अवस्था अझै अज्ञात छ भने १७ विद्यार्थीलाई बाढीले बगाएको पुष्टि भएको छ। शिक्षकतर्फ १५ जना सम्पर्कविहीन छन् भने एक जनालाई बाढीले बगाएको पुष्टि भएको छ। खोजी तथा उद्धार कार्य जारी रहेकाले तथ्यांक अझै परिवर्तन हुन सक्ने मन्त्रालयले जनाएको छ।
१७ विद्यालयमा प्रत्यक्ष क्षति, ३२ विद्यालयको पढाइ प्रभावित
शिक्षा विभागको पछिल्लो विवरणअनुसार बाढीबाट तीन जिल्लाका १७ विद्यालयमा प्रत्यक्ष क्षति पुगेको छ। तीमध्ये नौ सामुदायिक, सात निजी र एक धार्मिक विद्यालय छन्।
क्षतिग्रस्त विद्यालयमध्ये नौ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने अन्यमा आंशिक क्षति पुगेको छ। जिल्लागत रूपमा नुवाकोटका नौ, रसुवा र धादिङका चार–चार विद्यालयमा क्षति पुगेको विभागले जनाएको छ।
प्रत्यक्ष क्षतिग्रस्त विद्यालयको संख्या १७ भए पनि बाढी, विस्थापन, विद्यालयलाई आश्रयस्थलका रूपमा प्रयोग गरिनु तथा विद्यार्थी–शिक्षक सम्पर्कविहीन हुनुका कारण ३२ विद्यालयको पठनपाठन प्रभावित भएको छ। ती विद्यालयमा अध्ययनरत ९ हजार ७३२ विद्यार्थी नियमित कक्षाबाट वञ्चित भएका छन्।
नुवाकोटमा मात्रै ४ हजार २५८, धादिङमा ३ हजार ७०५ र रसुवामा १ हजार ७६९ विद्यार्थीको पठनपाठन प्रभावित भएको विभागको तथ्यांक छ।
नीलकण्ठ माविका २०० विद्यार्थी सम्पर्कविहीन
मानवीय क्षतिको हिसाबले रसुवाको नीलकण्ठ माध्यमिक विद्यालय सबैभन्दा बढी प्रभावित देखिएको छ।
विद्यालयका करिब २०० विद्यार्थी र चार शिक्षक अझै सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ। विद्यालयका विद्यार्थीहरू बस कुरिरहेका वा बाटोमा रहेका बेला बाढी आएको र आसपासको खाल्टे बस्तीसमेत बाढीले बगाएकाले वास्तविक अवस्था पत्ता लगाउन कठिन भएको विद्यालय प्रशासनले बताएको छ।
रसुवाकै कोमीस्यामे वाङ्फेल माध्यमिक विद्यालयका १६ विद्यार्थीलाई बाढीले बगाएको पुष्टि भएको छ। सोही विद्यालयका एक शिक्षकसमेत बेपत्ता छन्।
त्यस्तै नेपाल राष्ट्रिय आधारभूत विद्यालयका छ शिक्षक, नव विजय माध्यमिक विद्यालयका दुई शिक्षक तथा चिप्लेटी आधारभूत विद्यालयका चार विद्यार्थी सम्पर्कविहीन रहेको मन्त्रालयको विवरण छ। हाइल्याण्ड सेकेन्डरी स्कुलका छ र गोसाईंकुण्ड अंग्रेजी बोर्डिङ स्कुलका नौ विद्यार्थी पनि बेपत्ता छन्।
नुवाकोटमा पनि विद्यार्थीको अवस्था अझै अज्ञात
नुवाकोटको चण्डेश्वरी माध्यमिक विद्यालयका १२ विद्यार्थी सम्पर्कविहीन छन् भने एक विद्यार्थीलाई बाढीले बगाएको पुष्टि भएको छ।
यसअघि बाढीले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भौतिक संरचना समेत पूर्ण रूपमा क्षति गरेको थियो। विद्यालयमा करिब १ हजार ६४३ विद्यार्थी अध्ययनरत थिए। बाढी आउनुअघि विद्यार्थीलाई सुरक्षित स्थानतर्फ निकाल्न सकिएकाले ठूलो मानवीय क्षति भने टरेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले बताएका छन्।
बाढीबाट रामचन्द्र आधारभूत विद्यालय र उत्तरगया इङ्लिस बोर्डिङ स्कुलका संरचना तथा बससमेत क्षतिग्रस्त भएका छन्। नुवाकोटका प्रभावित क्षेत्रका विद्यालय अहिले अनिश्चितकालका लागि बन्द गरिएको छ।
उत्तरगया स्कुलका विद्यार्थीको शव सयौं किलोमिटर तल भेटियो
विदुर नगरपालिका–१० आँगिटारस्थित उत्तरगया पब्लिक इंग्लिस सेकेन्डरी स्कुल बाढीबाट सबैभन्दा बढी प्रभावित विद्यालयमध्ये एक हो।
विद्यालयमा रसुवा र नुवाकोटका गरी ३६२ भन्दा बढी विद्यार्थी अध्ययनरत थिए। बाढीपछि ठूलो संख्यामा विद्यार्थी सम्पर्कविहीन भएका थिए। विद्यालयका प्रधानाध्यापकका अनुसार बाढीबाट विद्यालयका भवनमा ठूलो क्षति पुगेको छ।
बाढी गएको दिन र त्यसको भोलिपल्ट नवलपरासी पूर्वको गैँडाकोट र देवचुलीमा भेटिएका दुई बालकका शव उनीहरूले लगाएको विद्यालयको टाईका आधारमा उत्तरगया स्कुलका विद्यार्थी भएको खुलेको थियो। दुवै शवमा विद्यालयको नाम र लोगो अंकित टाई भेटिएको थियो।
यस घटनाले बाढीको बहावले मानिस तथा भग्नावशेषलाई नदीको तल्लो तटीय क्षेत्रमा कति टाढासम्म पुर्याएको थियो भन्ने भयावह तस्वीर देखाएको छ।
टिमुरेको विद्यालयको भवनको नामोनिशान छैन
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको नेपाल राष्ट्रिय बेसिक स्कुल पनि बाढीबाट पूर्ण रूपमा ध्वस्त भएको छ।
विद्यालयमा करिब ४० विद्यार्थी नियमित अध्ययनरत थिए। प्रधानाध्यापक फुर्पु दोर्जे घलेका अनुसार विद्यालयको चारतले भवनसहित कुनै पनि संरचना बाँकी छैन।
विद्यालयका शिक्षक तथा विद्यार्थीमध्ये पनि केही अझै सम्पर्कमा आएका छैनन्। बाढीका कारण टिमुरे क्षेत्रका बस्ती नै तहसनहस भएकाले विद्यालयमा अध्ययनरत विद्यार्थीको वास्तविक अवस्था पत्ता लगाउन कठिन भएको छ।
१ हजार २३० विद्यार्थी शिविरमा
बाढीका कारण घर तथा बस्तीबाट विस्थापित भएका विद्यार्थीलाई विभिन्न शिविर तथा होल्डिङ सेन्टरमा राखिएको छ।
शिक्षा विभागका अनुसार मंगलबारसम्म १ हजार २३० विद्यार्थी शिविरमा रहेका थिए। नुवाकोटको बेलकोटगढीमा २००, विदुरमा ४०० र शिवपुरीमा ४० विद्यार्थी रहेका छन्। रसुवाको गोसाइँकुण्डमा १५० र उत्तरगया गाउँपालिकामा ४४० बालबालिका शिविरमा रहेका छन्।
त्यस्तै, रसुवा र नुवाकोटका आठ विद्यालयलाई आश्रयस्थलका रूपमा प्रयोग गरिएको छ। ती विद्यालयमा करिब १ हजार २०० विस्थापित व्यक्ति बसिरहेका छन्।
तथ्यांक संकलनमै ठूलो चुनौती
बाढीले सडक, सञ्चार तथा विद्युत् संरचनामा समेत क्षति पुर्याएकाले प्रभावित क्षेत्रका विद्यार्थी, शिक्षक र परिवारको अवस्था तत्काल पत्ता लगाउन कठिन भएको छ।
अझ ठूलो समस्या बाढीले कतिपय बस्ती नै बगाएकाले विद्यालयको सम्पर्क सूचीबाट विद्यार्थीको अवस्था पुष्टि गर्न नसकिनु हो। त्यसैले विद्यालय प्रशासनले दिएको प्रारम्भिक विवरण र सरकारी तथ्यांकबीच समेत फरक देखिएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित तीन जिल्लाको शैक्षिक अवस्थाबारे स्थलगत अध्ययन गर्न छुट्टाछुट्टै टोली परिचालन गरेको छ। टोलीले विद्यालयको भौतिक क्षति, विद्यार्थी तथा शिक्षकको अवस्था र पठनपाठनमा परेको असरबारे अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ। त्यसकै आधारमा पुनःस्थापना तथा पुनर्निर्माणको योजना बनाइने मन्त्रालयले जनाएको छ।
यसैबीच, बाढी प्रभावित नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द गरिएका छन्। विदुर नगरपालिका र किस्पाङ गाउँपालिकाका सबै विद्यालय बन्द छन् भने बेलकोटगढी र तारकेश्वरका प्रभावित क्षेत्रमा समेत शैक्षिक गतिविधि अनिश्चित बनेको छ।
भौतिक संरचना पुनर्निर्माणभन्दा ठूलो चुनौती अहिले सम्पर्कविहीन विद्यार्थी तथा शिक्षकको वास्तविक अवस्था पत्ता लगाउनु र विस्थापित बालबालिकालाई सुरक्षित वातावरणमा फर्काउनु बनेको छ।



