काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा आज काठमाडौंको बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा जेनजी सहिद स्मृति दिवस मनाइएको छ।
जेनजी सहिद परिवार कल्याणकारी समाजको आयोजनामा भएको कार्यक्रमको उद्घाटन गृहमन्त्री सुधन गुरुङले गरेका छन्। कार्यक्रममा कानुनमन्त्री सोबिता गौतम, पूर्वाधारमन्त्री सुनिल लम्साल, भूमिमन्त्री प्रतिभा रावल, पर्यटनमन्त्री गनेश पौडेल, नवप्रवर्तनमन्त्री महावीर पुन र स्वास्थ्यमन्त्री निशा मेहतालगायत सहभागी छन्।
जेनजी सहिद परिवार र घाइतेहरूले यसअघि भदौ २३ गते बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमै स्मृति दिवस मनाउने घोषणा गरेका थिए। सरकारले पनि हरेक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ।
२०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो। तीमध्ये सरकारले ४५ जनालाई सहिद घोषणा गरिसकेको छ। गृह मन्त्रालयले सहिद घोषणा गरिएका व्यक्तिहरूको विवरणसमेत सार्वजनिक गरेको छ।
स्मृति दिवसमा आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झना गर्दै उनीहरूको परिवार तथा घाइतेका विषयमा समेत ध्यानाकर्षण गराइएको छ।



