काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट पाँच जना बेपत्ता भएका छन् भने ९५ जनाको उद्धार गरिएको छ। बाढीले घर, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएको छ।
प्रारम्भिक विवरणअनुसार गोरखा र धादिङका २०० भन्दा बढी परिवार विस्थापित भएका छन्। गोरखाको चुमनुब्री गाउँपालिकामा ४३, धार्चेमा ३९, आरुघाटमा ६४ तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा ५८ परिवार विस्थापित भएका हुन्।
चुमनुब्री गाउँपालिका–६ अन्तर्गत पहिरो तथा गेग्रानले नदीको बहाव थुनिएपछि पानी जम्मा भएर एक्कासि बाढी आएको प्रारम्भिक अनुमान छ। बाढीको वास्तविक कारणबारे प्राविधिक अध्ययन भइरहेको छ।
बाढीले चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न बस्तीका घर तथा पुल बगाएको छ। प्रारम्भिक विवरणअनुसार चुमनुब्रीका जगत बगर, सल्लेरी र घट्टेखोलालगायत क्षेत्रमा ३५ देखि ४० घर बगाएको अनुमान छ। विभिन्न स्थानका झोलुङ्गे पुल र मोटरेबल पुलमा समेत क्षति पुगेको छ।
त्यसैगरी, धार्चे गाउँपालिका–३ स्थित निर्माणाधीन जलविद्युत् आयोजनाको क्याम्प र उपकरणमा क्षति पुगेको छ। सडक तथा सञ्चार पूर्वाधारमा क्षति हुँदा केही बस्तीको आवतजावतसमेत अवरुद्ध भएको छ।
बेपत्ता पाँच जनाको खोजी तथा प्रभावित क्षेत्रका बासिन्दाको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। हेलिकप्टरमार्फत उद्धार तथा राहत सामग्री ढुवानी भइरहेको छ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै बूढीगण्डकी र त्रिशूली नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको छ।
बेपत्ता व्यक्तिको अवस्था र भौतिक क्षतिको अन्तिम विवरण भने पुष्टि हुन बाँकी छ।



