त्रिपुरेश्वर बस आगजनी घटनाको छानबिन गर्न ७ सदस्यीय समिति गठन

काठमाडौं । त्रिपुरेश्वर–टेकु सडकखण्डअन्तर्गत त्रिपुरेश्वरको पार्किङ बेमा रोकिराखिएको बसमा भएको आगजनी घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले छानबिन समिति गठन गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद गैरेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो। समितिलाई घटनाको अनुसन्धान तथा छानबिन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

समितिमा प्रहरी वृत्त कालिमाटीका डीएसपी नरेश सिंह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी शैलेन्द्रकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौंका सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रतिनिधि भीम ज्वाला राई र रिद्धिसिद्धि यातायात प्रालिका प्रतिनिधि लव केसी सदस्य छन्।

प्रशासनका अनुसार सोमबार बिहान करिब १०ः४७ बजे त्रिपुरेश्वरबाट टेकुतर्फ जाँदै गरेको रिद्धिसिद्धि यातायातको बा.५ ख ४२७४ नम्बरको बसका चालक दावा लामासँग ट्राफिक नियम उल्लंघनको विषयमा पुर्जी काट्ने क्रममा विवाद भएको थियो। त्यसपछि बसलाई पार्किङ बेमा लगेर रोकिएको अवस्थामा आगजनी भएको थियो।

समितिले घटनास्थलका सीसीटीभी फुटेज, उपलब्ध तथ्य तथा प्रमाण अध्ययन गर्नेछ। साथै घटनाका प्रत्यक्षदर्शी तथा जानकारी भएका व्यक्तिसँग बयान लिने र बस पार्किङमा रोकिएको समयदेखि आगजनी भएको समयसम्मको घटनाक्रमको टाइमलाइन तयार गर्नेछ।

आगजनीबाट गम्भीर घाइते भएका चालक लामाको पृष्ठभूमि, मोबाइलबाट प्राप्त हुन सक्ने भिडियो तथा म्यासेज र सम्बन्धित व्यक्तिसँगको सम्पर्क तथा कल डिटेलसमेत छानबिन गरिने प्रशासनले जनाएको छ।

घटना चालक र ट्राफिक प्रहरीबीच भएको विवादपछि भएको प्रारम्भिक विवरण सार्वजनिक भए पनि आगजनीको वास्तविक कारण भने छानबिनपछि मात्र स्पष्ट हुने प्रशासनले जनाएको छ।

यसैबीच, उपत्यका प्रहरी कार्यालयले पनि एसएसपी रमेश बस्नेतको नेतृत्वमा छुट्टै ५ सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin