काठमाडौं । बुधबारदेखि लगातार भइरहेको वर्षा शनिबारदेखि पूर्वी भूभागबाट क्रमिक रूपमा सुधार हुन थालेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी क्षेत्रमा गएरातिदेखि वर्षा कम हुँदै गएको हो।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शनिबार बिहान घाम लागेको छ। यद्यपि काठमाडौंको मौसम पूर्ण रूपमा सफा नहुने र वर्षा आउने–जाने क्रमसँगै बीचमा घाम लाग्न सक्ने मौसमविद्हरूले बताएका छन्। काठमाडौंमा शनिबार साँझ वा रातितिर पुनः वर्षा हुन सक्ने भए पनि भारी वर्षाको सम्भावना कम रहेको जनाइएको छ।
पूर्वी क्षेत्रमा सुधार हुँदै गए पनि पश्चिमी भूभागमा भने शनिबार राति र आइतबार बिहानसम्म वर्षाको सम्भावना रहेको छ। पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएको छ।
महाशाखाको शनिबार बिहानको पूर्वानुमानअनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने जनाइएको छ।
रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार पश्चिमी क्षेत्रमा आइतबार दिउँसो वा साँझपछि मौसम क्रमिक रूपमा सुधार हुँदै जानेछ। त्यसअघि सम्भावित भारी वर्षाका कारण नदी तथा खोला आसपास र जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
भारततर्फ केही दिनअघि बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली डिप्रेसनमा परिणत भई स्थलतर्फ प्रवेश गरेको थियो। उक्त प्रणाली हाल छत्तीसगढ क्षेत्रमा रहेर उत्तर–उत्तरपश्चिमतर्फ सर्दै कमजोर हुने क्रममा रहेको र आगामी १२ घण्टामा न्यूनचापीय क्षेत्रमा परिणत हुने महाशाखाले जनाएको छ।



