दमकलसँग ठोक्कियो विमान, दुई पाइलटको मृत्यु, ४३ जनाभन्दा बढी यात्रु गम्भीर घाइते

न्युयोर्कको ला गार्डिया (LaGuardia) विमानस्थलमा एयर क्यानडाको एउटा यात्रुवाहक विमान रनवेमा गुडिरहेको दमकलसँग ठोक्किँदा दुई पाइलटको बीभत्स मृत्यु भएको छ। मन्ट्रियलबाट ७२ जना यात्रु लिएर आएको ‘फ्लाइट AC8646’ अवतरण गर्ने क्रममा रनवेमा खडा दमकलसँग ठोक्किन पुग्दा यो भयावह दुर्घटना भएको हो। दुर्घटनामा विमानमा सवार ४३ जनाभन्दा बढी यात्रु गम्भीर घाइते भएका छन्।

विमान अवतरण भइरहँदा नियन्त्रण कक्ष (ATC) बाट “रोक! रोक!” भन्दै चिच्याएको आवाज सुनिँदा नसुनिँदै विमान दमकलसँग ठोक्किइसकेको थियो। करिब ९३ देखि १०५ माइल प्रतिघन्टाको तीव्र गतिमा रहेको विमान दमकलसँग ठोक्किँदाको झड्का यति शक्तिशाली थियो कि एकजना एयर एटेन्डेन्ट कुर्सीसहित विमानबाहिर उछिट्टिएकी थिइन्, यद्यपि उनी जीवितै भेटिएकी छन्।

के थियो दुर्घटनाको मुख्य कारण?

प्रारम्भिक अनुसन्धानका अनुसार, उक्त दमकल अर्को एउटा विमानको आपतकालीन उद्धारका लागि रनवेमा तैनाथ थियो र एयर ट्राफिक कन्ट्रोलबाटै रनवे पार गर्ने अनुमति पाएको थियो। एउटै समयमा विमान अवतरण हुनु र दमकल रनवेमै रहनुले सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न उठाएको छ। यो ला गार्डिया विमानस्थलमा पछिल्लो ३० वर्षयताकै पहिलो यस्तो घातक दुर्घटना मानिएको छ।

अहिले विमानस्थलमा उद्धार कार्य जारी छ र घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ। अमेरिकी उड्डयन अधिकारीहरूले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरेका छन् भने एयर क्यानडाले आफ्ना कर्मचारी र यात्रुहरूका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।

💡 Bichardhara Fact Time

Tags: ,

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin

FB News Card