गृहमन्त्री सुधन गुरूङले अवैध रूपमा सञ्चालित सबै क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएका छन्। मंगलबार काभ्रेको रोशी खोला क्षेत्रको अनुगमन गर्दै उनले नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न कडा कदम चाल्नुपर्ने बताएका हुन्।
उनले ढुंगा, गिटी र बालुवा जस्ता नदीजन्य सामग्रीको अनियन्त्रित उत्खननका कारण बाढी र पहिरोको जोखिम बढेको उल्लेख गरे। २०८१ असोजमा रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको करिब २५ किलोमिटर क्षेत्रमा क्षति पुर्याएको थियो।
गृहमन्त्री गुरूङले विगतमा राजनीतिक संरक्षण र सेटिङका आधारमा अवैध क्रसर सञ्चालन हुँदै आएको भन्दै अब यस्तो गतिविधि सहन नसकिने स्पष्ट पारे। उनले सम्बन्धित निकायलाई अनुगमन कडा पार्दै अवैध उद्योगमाथि तत्काल कारबाही गर्न निर्देशन दिएका छन्।



