काठमाडौं:
चैत १९ देखि देशभर सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष नयाँ व्यवस्थासहित अघि बढेको छ। यसपटक हरेक विषयको परीक्षा सकिएको तीन दिनभित्रै उत्तरपुस्तिका जाँच्नुपर्ने व्यवस्था लागू गरिएको छ।
सरकारले एसइई सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेपछि राष्ट्रिय परीक्षा बोर्डले यस्तो व्यवस्था गरेको हो। यसअघि भने सबै परीक्षा सकिएपछि मात्र कापी जाँच्ने काम सुरू हुने गरेको थियो।
अहिले भने परीक्षा सँगसँगै कापी जाँच सुरू गरिएको छ। परीक्षा सकिएलगत्तै विद्यालयमै शिक्षकहरूले उत्तरपुस्तिका जाँच्ने काम गरिरहेका छन्। कतिपय विद्यालयले अन्य विद्यालयका विषयगत शिक्षकसँग समन्वय गरेर काम अघि बढाएका छन् भने केहीले आफ्नै शिक्षकमार्फत जाँच गरिरहेका छन्।
उत्तरपुस्तिका जाँच्ने काम सिसिटिभी र प्रहरीको निगरानीमा भइरहेको छ। परीक्षा अवधिभर विद्यालयहरू बिहानदेखि साँझसम्म खुला राखिएको छ र सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ।
कतिपय विषयमा शिक्षक अभावका कारण केही चुनौती देखिए पनि अधिकांश स्थानमा तोकिएको समयमै कापी जाँच्ने प्रयास भइरहेको छ।
नयाँ व्यवस्था सफल भएमा छिटो नतिजा प्रकाशन हुने र विद्यार्थीको समय बचत हुने अपेक्षा गरिएको छ।



