सम्झौता नमानिए इरानमाथि ‘ऐतिहासिक’ आक्रमणः ट्रम्प चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामपछि पनि इरानले ‘वास्तविक सम्झौता’ पालना नगरे इतिहासमै नदेखिएको स्तरको आक्रमण गर्ने चेतावनी दिएका छन्।

युद्धविराम घोषणाको भोलिपल्टै ट्रम्पले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिँदै सम्झौता उल्लंघन भए शक्तिशाली सैन्य कारबाही हुने बताएका हुन्।

‘यदि सम्झौता पालना भएन भने त्यसपछि हुने कारबाही यति ठूलो र कडा हुनेछ कि त्यस्तो कारबाही अहिलेसम्म कसैले देखेको हुनेछैन,’ ट्रम्पले उल्लेख गरेका छन्।

उनले अमेरिकी सेना, हतियार र सैन्य संरचना इरान वरपरकै क्षेत्रमा यथावत् राखिएको पनि प्रष्ट पारेका छन्। ‘कमजोर भइसकेको शत्रु विरुद्ध आवश्यक सैन्य तयारी हामीले कायम राखेका छौं,’ उनले भने।

ट्रम्पका अनुसार ‘वास्तविक सम्झौता’ भन्नाले इरानले परमाणु कार्यक्रम रोक्नु र हर्मुज जलडमरू अवरोधविना सञ्चालन हुन दिनु हो। तर, इरानले भने यस्तो सर्त युद्धविराममा समावेश नभएको दाबी गर्दै अमेरिकाले अनावश्यक दबाब दिएको जनाएको छ।

युद्धविरामपछि पनि क्षेत्रीय तनाव कम नभएको देखिएको छ। इरानले इसराइलले लेबननमा हमला जारी राखेको आरोप लगाउँदै थप वार्ताको औचित्य नरहेको जनाएको छ।

यसैबीच, इसराइल र अमेरिकाले भने युद्धविराममा लेबनन समावेश नभएको स्पष्ट पारेका छन्। तर, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले मध्यस्थता गरेको सहमतिमा सबै पक्ष समावेश भएको दाबी गरेका थिए।

इसराइलले लेबनन युद्धविराममा नपरेको बताउँदै भीषण आक्रमण जारी राख्दा बुधबार मात्र २५० भन्दा बढी मानिसको मृत्यु भएको छ।

घटनापछि इरानी सभामुख मोहम्मद बाघेर गालिबाफले वार्ताको औचित्य नभएको बताएका छन्। यद्यपि पाकिस्तानले इस्लामावादमा दुवै पक्षलाई वार्ताका लागि निम्तो दिएको छ, र इरानले प्रारम्भिक रूपमा वार्तामा बस्न तयार रहेको जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin

FB News Card