काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ। शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
अस्पतालका अनुसार मण्डलको शरीरको करिब ८५ प्रतिशत भाग जलेको छ। बर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार उनको अवस्था गम्भीर रहेकाले उपचार जारी राखिएको छ र शल्यक्रियाको तयारी गरिएको छ।
सर्लाहीको गोडैता नगरपालिका–१० का विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
घटनापछि उनलाई सुरुमा स्थानीय स्तरमा उपचार गरिएको थियो। अवस्था गम्भीर बनेपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो। शुक्रबार साँझ करिब साढे ७ बजे उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याइएको थियो।
पछिल्ला दिनमा नेपालमा आत्मदाहका घटनाहरू बढ्दै गएको देखिएका छन्। यसअघि मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले पनि काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो।
यस्तै, काठमाडौंमा अर्को आत्मदाहको घटना पनि सार्वजनिक भएको छ। लगातार भइरहेका यस्ता घटनाले सामाजिक, आर्थिक र मानसिक दबाबका विषयमा गम्भीर बहस आवश्यक देखिएको छ।



