काठमाडौँ । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूले विमानस्थलमा अनावश्यक थप कागजात तथा बिल/रसीद पेश गर्न नपर्ने स्पष्ट पारेको छ।
शुक्रबार सार्वजनिक सूचनामार्फत विभागले वैदेशिक रोजगार विभागको अघिल्लो सूचनापछि उत्पन्न अन्योलप्रति ध्यानाकर्षण भएको जनाएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा श्रमिकसँग अतिरिक्त कागजात मागिएको भन्ने विषय सार्वजनिक भएपछि विभागले स्पष्टीकरण दिएको हो।
विभागका अनुसार गृह मन्त्रालयको मन्त्रिस्तरीय निर्णय तथा प्रचलित अध्यागमन कानुनअनुसार वैध भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि कम्तीमा ६ महिना वैध राहदानी, हवाई टिकट र गन्तव्य मुलुकको भिसा पर्याप्त हुन्छ।
त्यस्तै, वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा वैदेशिक रोजगार विभागबाट जारी गरिएको श्रम स्वीकृति र राहदानी भए पुग्ने जनाइएको छ। यसबाहेक अध्यागमन कार्यालयमा थप कागजात वा बिल/रसीद पेश गर्न नपर्ने विभागले स्पष्ट पारेको छ।
विभागले अनावश्यक कागजात माग्ने वा यात्रुहरूलाई झन्झट दिने कार्य नगर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेको छ।



