राष्ट्रिय सभामा विष्णुकुमारी सापकोटाको प्रस्ताव– ‘योग र ध्यानलाई राष्ट्रिय जीवनशैली बनाऔँ’

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले मुलुकमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्या, सामाजिक विचलन र अन्य चुनौती समाधानका लागि योग तथा ध्यानलाई राष्ट्रिय जीवनशैली बनाउनुपर्ने प्रस्ताव गरेकी छन्।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद सापकोटाले नेपालमा लोकतन्त्र र नागरिक अधिकार प्राप्तिका लागि विगत ८० वर्षदेखि विभिन्न नेताले गरेको योगदानको स्मरण गर्दै प्राप्त उपलब्धिको जगमा वर्तमान समस्याको समाधान खोज्नुपर्ने बताइन्।

उनले जननेता बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको लोकतान्त्रिक आन्दोलनमा रहेको भूमिकाको चर्चा गर्दै मुलुकलाई थप समृद्ध र व्यवस्थित बनाउन सबै पक्षले योगदान गर्नुपर्ने बताइन्।

सापकोटाले प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोग बढ्दा सामाजिक तथा पारिवारिक सम्बन्धमा समेत दरार उत्पन्न भइरहेको बताइन्। पश्चिमी संस्कृतिको अन्धअनुकरणले नेपाली मौलिकता, संस्कार र परम्परा कमजोर हुँदै गएकोमा उनले चिन्ता व्यक्त गरिन्।

‘आज समाजमा शान्ति छैन, अभाव र समस्याको चाङ छ। आत्महत्या र डिप्रेसनका घटना दिनप्रतिदिन बढ्दै जानु चिन्ताको विषय हो,’ उनले भनिन्।

नेपाल हिमाल, पहाड र तराईको देश मात्र नभई ऋषिमुनि र योगीहरूको तपोभूमिसमेत भएको उल्लेख गर्दै उनले लुम्बिनी, रेसुङ्गा, पशुपतिनाथ, मुक्तिनाथ र हलेसीलगायत धार्मिक तथा आध्यात्मिक क्षेत्रलाई जोडेर अन्तर्राष्ट्रियस्तरको योग, ध्यान तथा विश्व शान्ति सर्किट निर्माण गर्नुपर्ने प्रस्ताव गरिन्।

उनले मानसिक तनाव, सामाजिक विचलन र पारिवारिक समस्यालगायत चुनौतीको दीर्घकालीन समाधानका लागि योग, ध्यान र आध्यात्मिक चिन्तनलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताइन्।

सांसद सापकोटाले कर्मचारीको अवकाश नीति र वैदेशिक रोजगारीको विषयसमेत उठाइन्। ५५ वर्षमै कर्मचारीलाई अवकाश दिने नीतिले अनुभवी तथा दक्ष जनशक्ति खेर गइरहेको उनको तर्क थियो।

उनले अनुभवी जनशक्तिको ज्ञान र सीपलाई राज्यको विकासमा उपयोग गर्ने गरी कर्मचारी अवकाश नीतिमा पुनर्विचार गर्नुपर्ने बताइन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin