भारतमा आयोजित ब्रिक्स शिखर सम्मेलनले खाडी क्षेत्रमा जारी द्वन्द्व अन्त्य गर्दै शान्ति र स्थिरता कायम गर्न आह्वान गरेको छ।
शिखर सम्मेलनको पहिलो दिन शनिबार जारी संयुक्त वक्तव्यमा ब्रिक्सका सदस्य राष्ट्रहरूले युद्धमा संयमता अपनाउन आग्रह गरेका छन्। इरान र संयुक्त अरब इमिरेट्स (युएई) समेतले वक्तव्यमा हस्ताक्षर गरेका छन्।
यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियान र युएईका युवराजबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ। द्वन्द्व सुरु भएयता दुई देशका नेताबीच भएको यो उच्चस्तरीय भेटवार्ता हो। उनीहरूले तनाव न्यूनीकरण, क्षेत्रीय स्थिरता, शान्ति र विकासबारे छलफल गरेका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि इरान युद्धले क्षेत्रका जनतालाई ठूलो क्षति पुर्याएको भन्दै द्वन्द्व अन्त्यका लागि शान्तिदूतको भूमिका खेल्न ब्रिक्सका सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन्।
यता, खाडी सहयोग परिषद् (जीसीसी) का विदेशमन्त्रीहरूले हर्मुज जलडमरूबाट हुने जल यातायात व्यवस्थापनबारे इरानसँग छलफल गर्ने भएका छन्। ओमानको पहलमा सोमबार सलालाहमा हुने बैठकमा इरान र जीसीसीका विदेशमन्त्रीहरू सहभागी हुनेछन्।
अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेयता जीसीसीका विदेशमन्त्रीहरूको इरानसँग यो पहिलो उच्चस्तरीय भेट हुनेछ। हर्मुज जलडमरूमा तनाव बढ्दा विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ।



