काठमाडौं — पछिल्लो समय बढ्दै गएको डिजिटल यौनहिंसा र साइबर बुलिङका घटनाप्रति चासो व्यक्त गर्दै नेकपा एमालेका महिला सांसदहरू सोमबार नेपाल प्रहरीको साइबर ब्युरो पुगेका छन्। अमिसा पराजुलीमाथि भएको डिजिटल हिंसाको घटनामा कारबाही अघि बढिरहेका बेला सांसदहरूले समग्र समस्याको अवस्था बुझ्न र समाधान खोज्न पहल थालेका हुन्।
एमाले सांसद पद्मा अर्याल, रामकुमारी झाक्रीलगायतले साइबर ब्युरो पुगेर डिजिटल माध्यमबाट भइरहेको हिंसा, धम्की र दुव्र्यवहारका घटनाबारे जानकारी लिएका थिए। उनीहरूले विशेषगरी महिला, किशोरी तथा सर्वसाधारणमाथि सामाजिक सञ्जालमार्फत भइरहेको दुर्व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गरे।
सांसद झाक्रीले पछिल्ला वर्षहरूमा साइबर बुलिङ अत्यधिक बढेको बताउँदै आफू समेत यस्तो हिंसाको सिकार भएको उल्लेख गरिन्। उनले अन्याय सहेर बस्नु पनि पीडित बन्नु जस्तै भएको भन्दै यसविरुद्ध कडा कदम चाल्नुपर्ने धारणा राखिन्।
सामाजिक सञ्जालको प्रयोगसँगै डिजिटल अपराधको स्वरूप झन् जटिल बन्दै गएको उनीहरूको निष्कर्ष छ। च्याट, पोस्ट तथा अन्य भर्चुअल माध्यममार्फत धम्की, घृणा फैलाउने, हिंसात्मक गतिविधिको उक्साहटजस्ता घटनाहरू बढ्दै गएको भन्दै सांसदहरूले यसलाई नियन्त्रण गर्न प्रभावकारी नीति आवश्यक रहेको बताएका छन्।
साइबर ब्युरोका एसपी दिलिपकुमार गिरीका अनुसार सांसदहरूले डिजिटल यौनहिंसाका कारण व्यक्तिगत जीवनमा परेको असरबारे समेत चासो देखाएका थिए। यस्ता घटनाले सम्बन्ध विच्छेददेखि सामाजिक विघटनसम्मका समस्या निम्त्याएको उल्लेख गर्दै त्यसको न्यूनीकरणका उपायबारे छलफल भएको उनले बताए।
सांसदहरूले विद्यमान कानुन पर्याप्त छ कि छैन भन्ने विषयमा समेत चासो राख्दै आवश्यक परे नीतिगत सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। साइबर ब्युरोले भने उजुरी आएपछि प्राविधिक रूपमा अनुसन्धान प्रक्रिया कसरी अगाडि बढाइन्छ भन्नेबारे जानकारी गराएको जनाएको छ।
पछिल्लो समय डिजिटल माध्यममा हुने यौनहिंसा र साइबर अपराधका घटना बढ्दै गइरहेका बेला यस विषयमा राज्यस्तरबाट गम्भीर पहल आवश्यक देखिएको छ।



