अन्तर्राष्ट्रिय । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युक्रेनमाथि हवाई हमला बढाए रूसी तेल प्रशोधन केन्द्रमाथिको आक्रमण थप तीव्र बनाउने चेतावनी दिएका छन्।
रोयटर्ससँगको अन्तर्वार्तामा जेलेन्स्कीले रूसले आगामी जाडोयामलाई लक्षित गर्दै युक्रेनका ऊर्जा, यातायात तथा अन्य पूर्वाधारमाथि हमला गर्ने तयारी गरिरहेको खुफिया सूचना प्राप्त भएको दाबी गरे। उनका अनुसार रूसको उद्देश्य किभलगायतका सहरबाट सर्वसाधारणलाई विस्थापित गर्न दबाब सिर्जना गर्नु हो।
रूसले पछिल्ला दिनमा किभमा ड्रोन र क्षेप्यास्त्रबाट लगातार हमला गरिरहेको छ। ऊर्जा तथा दूरसञ्चार संरचना, सडक र रेलमार्गलगायतका पूर्वाधारलाई निशाना बनाइएको युक्रेनको भनाइ छ। किभका डिनिप्रो नदीमाथिका पुलमा समेत पछिल्लो समय हमला भएको छ।
जेलेन्स्कीले युक्रेनले नागरिकलाई लक्षित नगर्ने तर रूसको युद्ध खर्च धान्ने आम्दानीको प्रमुख स्रोत मानिएको तेल क्षेत्रलाई निशाना बनाउने बताए। उनले रूसले युक्रेनको ऊर्जा संरचनामाथि हमला गरे आफूहरूले पनि रूसी ऊर्जा संरचनामाथि जवाफ दिने बताएका छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसी तेल तथा डिजेल उत्पादन संरचनामाथि हमला रोक्न आग्रह गरेका थिए। युक्रेनी ड्रोन आक्रमणका कारण रूसको इन्धन उत्पादन प्रभावित भएको र केही क्षेत्रमा पेट्रोल अभावसमेत देखिएको रोयटर्सले जनाएको थियो।
यसैबीच, जेलेन्स्कीले पूर्वी डोनबास क्षेत्रमा ‘भिभाल्डी’ नाम दिइएको जवाफी कारबाहीमार्फत करिब १४० वर्ग किलोमिटर भूभाग फिर्ता लिएको दाबी गरेका छन्। रूसले भने शान्ति सम्झौताका लागि डोनबासमाथि पूर्ण नियन्त्रण आवश्यक रहेको बताउँदै आएको छ।
रूस र युक्रेनबीचको युद्ध अन्त्य गर्न अमेरिकी प्रशासनले वार्ता पुनः अघि बढाउने प्रयास गरिरहेको भए पनि हाल दुवै पक्षबीच हवाई हमला र ऊर्जा पूर्वाधारमाथिको आक्रमण जारी छ।



