अमेरिकी राष्ट्रपति Donald Trump ले इरानलाई फेरि ४८ घन्टाको अल्टिमेटम दिएका छन्, जसले दुई देशबीचको तनाव थप चर्किएको छ।
इरानले आफ्नो भूमिमा अमेरिकी F-15E Strike Eagle लडाकू विमान खसालेपछि ट्रम्पले Strait of Hormuz तत्काल खुला गर्न चेतावनी दिएका हुन्। उक्त घटनामा एक पाइलटको उद्धार गरिएको भए पनि अर्का अझै बेपत्ता छन्। खोजीका क्रममा गएको अमेरिकी हेलिकप्टरमाथि पनि इरानी आक्रमण भएको जनाइएको छ।
घटनापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल Truth Social मा पोस्ट गर्दै ४८ घन्टाभित्र हर्मुज नखोले इरानमाथि ‘नर्क बर्सिने’ चेतावनी दिएका छन्।
उनले भनेका छन्, “मैले सम्झौताका लागि १० दिनको समय दिएको थिएँ। अब समय सकिँदैछ। यदि ४८ घन्टाभित्र तयार भएनन् भने भयानक हमला हुनेछ।”
Iran र United States बीच फेब्रुअरी २८ देखि जारी तनावका क्रममा ट्रम्पले पटक–पटक अल्टिमेटम दिँदै आएका छन्। सुरुमा ४८ घण्टाको समय दिएका उनले वार्ता सकारात्मक भइरहेको भन्दै समयसीमा थप्दै अप्रिल ६ सम्म पुर्याएका थिए।
उनले इरानले सहमति नजनाए ऊर्जा संरचनामाथि आक्रमण गर्न सकिने चेतावनीसमेत दिएका छन्।
यसबीच, इरानले पनि कडा प्रतिक्रिया दिएको छ। इरानी सेनाका कमान्डर Ali Abdollahi Alibadi ले अमेरिका तनाव बढाउन खोजे “नर्कको ढोका खुला” हुने चेतावनी दिएका छन्।
त्यस्तै, सैन्य प्रवक्ता Ebrahim Zolfaghari ले पनि अमेरिकालाई चेतावनी दिँदै भनेका छन्, “यदि शत्रुता बढाइयो भने इरान तपाईंका लागि नर्क सावित हुनेछ। इस्लामिक गणतन्त्रलाई हराउने भ्रम दलदलमा परिणत हुनेछ।”



