काठमाडौं– वेनेजुएलाको उत्तरी क्यारिबियन तटीय क्षेत्रमा पाँच दिनअघि आएको दुई शक्तिशाली भूकम्पपछि मृत्यु हुनेको संख्या १,७१९ पुगेको छ। हजारौं मानिस अझै बेपत्ता रहेकाले उद्धार तथा खोजी कार्य निरन्तर जारी रहेको अधिकारीहरूले जनाएका छन्।
उद्धार टोलीले पाँचौं दिन पनि मलबामुनिबाट जीवित व्यक्तिहरूको उद्धार गरिरहेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार करिब १०६ घण्टासम्म भग्नावशेषमा फसेका २१ वर्षीय एक युवकलाई सकुशल बाहिर निकालिएको छ।
गत जुन २४ को साँझ राजधानी कराकास नजिक एक मिनेटको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प गएको थियो। ती भूकम्पलाई वेनेजुएलामा पछिल्लो एक शताब्दी यताकै सबैभन्दा शक्तिशाली मानिएको छ। उत्तरी तटीय ला गुइरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ सयौं भवन ध्वस्त भएका छन् भने ठूलो संख्यामा भौतिक संरचनामा क्षति पुगेको छ।
भूकम्पपछि लगातार परकम्प जाने क्रम जारी छ। सोमबार ४.६ म्याग्निच्युडको अर्को परकम्प गएपछि केही समय राजधानीको मेट्रो सेवा प्रभावित भएको थियो।
संयुक्त राष्ट्रसंघको मानवीय सहायता संयन्त्रका अनुसार २७ देशबाट आएका दुई हजारभन्दा बढी उद्धारकर्मी र सयभन्दा बढी खोजी कुकुर उद्धार अभियानमा परिचालित छन्। वेनेजुएला सरकारले पनि विभिन्न देशबाट राहत सामग्री तथा अन्तर्राष्ट्रिय उद्धार टोलीहरू परिचालन भएको जनाएको छ।
संयुक्त राष्ट्रसंघले लाखौं मानिस प्रभावित भएको अनुमान गर्दै ठूलो संख्यामा बालबालिकासहित प्रभावित समुदायलाई तत्काल खाद्यान्न, स्वास्थ्य सेवा, सुरक्षित आश्रय र खानेपानी आवश्यक रहेको जनाएको छ। अन्तर्राष्ट्रिय आप्रवासन संगठनले पनि प्रभावितको संख्या अझै बढ्न सक्ने चेतावनी दिएको छ।
विपद्पछि राहत र उद्धार कार्यको गति पर्याप्त नभएको भन्दै केही प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका छन्। कतिपय स्थानमा समुदाय आफैंले निजी उपकरणको व्यवस्था गरेर भग्नावशेष हटाउने प्रयास गरिरहेका छन्।
विशेषज्ञहरूले पुराना तथा भूकम्प प्रतिरोधी मापदण्डअनुसार निर्माण नभएका भवन, कमजोर निर्माण गुणस्तर र तटीय भूगोलका कारण क्षति अझ बढेको बताएका छन्। प्रारम्भिक अनुमानअनुसार भूकम्पबाट अर्बौं डलर बराबरको आर्थिक क्षति भएको छ।



