काठमाडौं– पश्चिमी युरोपमा फैलिएको भीषण गर्मीको लहरले जनजीवन प्रभावित बनाएको छ। उच्च तापक्रमका कारण विभिन्न देशमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ भने सरकारहरूको विपद् व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार जुन २१ यता अत्यधिक गर्मीका कारण युरोपभर १,३०० भन्दा बढी अतिरिक्त मृत्यु भएका छन्। प्रभावितमध्ये अधिकांश वृद्धवृद्धा रहेका छन्।
फ्रान्समा सार्वजनिक स्वास्थ्य निकायले जुन २४ देखि केही दिनको अवधिमा करिब एक हजार अतिरिक्त मृत्यु भएको जनाएको छ। तीमध्ये झन्डै ८५ प्रतिशत ६५ वर्ष वा सोभन्दा माथिका नागरिक रहेका छन्। गर्मीका कारण घरमै मृत्यु हुने घटनामा समेत उल्लेख्य वृद्धि भएको अधिकारीहरूले बताएका छन्। यसैबीच, गर्मीबाट राहत खोज्ने क्रममा नदी, ताल तथा समुद्रमा डुबेर कम्तीमा ७४ जनाको मृत्यु भएको जनाइएको छ।
मौसमविद्हरूका अनुसार फ्रान्स र जर्मनीसहित पश्चिमी युरोपका धेरै क्षेत्रमा तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। केही स्थानमा तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ भने केही क्षेत्रमा औसतभन्दा १८ डिग्री सेल्सियससम्म बढी तापक्रम मापन गरिएको छ।
बढ्दो गर्मीपछि फ्रान्स सरकारले देशका आधाभन्दा बढी प्रशासनिक क्षेत्रमा उच्च सतर्कता जारी गरेको छ। लाखौं नागरिक प्रभावित हुने अनुमान गरिएपछि सरकारले संकट व्यवस्थापनका लागि विशेष बैठकसमेत बोलाएको छ। तर, सरकारको प्रतिक्रिया पर्याप्त नभएको भन्दै विपक्षी दलहरूले आलोचना गरेका छन्। सार्वजनिक भवन, अस्पताल र विद्यालयमा थप शीतलन सुविधा विस्तार गर्नुपर्ने मागसमेत उठेको छ।
वैज्ञानिकहरूले यो गर्मीको लहरलाई ‘हिट डोम’ (Heat Dome) नामक मौसमी प्रणालीसँग जोड्दै मानवजन्य जलवायु परिवर्तनका कारण यसको तीव्रता बढेको बताएका छन्। विश्व स्वास्थ्य संगठनले पनि युरोप विश्वको औसतभन्दा करिब दुई गुणा तीव्र गतिमा तातिरहेको जनाएको छ।
गर्मीका कारण मृत्यु दर बढेपछि फ्रान्सको राजधानी पेरिसका शवगृहहरूमा समेत चाप बढेको छ। शव राख्ने स्थान अभाव हुन थालेपछि केही शव राजधानीबाहिरका शीत भण्डारण केन्द्रमा पठाउनुपर्ने अवस्था सिर्जना भएको स्थानीय अधिकारीहरूले बताएका छन्।



