काठमाडौँ — नेपाली कांग्रेसका पदाधिकारीहरू सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने पक्षमा देखिएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेताहरूले सभापति थापाको कार्यभार अझै बाँकी रहेको भन्दै राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा राखेका हुन्।
बैठकस्थलमा उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे तथा सहमहामन्त्री उदय शमशेर राणा ले राजीनामा अस्वीकृत गर्ने तयारी रहेको बताएका छन्।
उपसभापति शर्माले राजीनामाबारे अन्तिम निर्णय बैठकले गर्ने बताए। यसअघि उनले सामाजिक सञ्जालमार्फत पनि केन्द्रीय कार्यसमितिले राजीनामा अस्वीकृत गर्ने संकेत गरेका थिए।
महामन्त्री घिमिरेले सभापति थापाले निर्वाचन परिणामको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको उल्लेख गर्दै पनि उनको कार्यभार अझै बाँकी रहेको बताए।
“हामी १५औँ महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित आएका हौँ। सभापति र हाम्रो दायित्व अझै पूरा भएको छैन,” उनले भने। उनले देशभरबाट सभापतिको विकल्प खोजिएको अवस्था नरहेको भन्दै राजीनामा फिर्ता लिन आग्रह गरिने र अस्वीकृत गरिने स्पष्ट पारे।
त्यस्तै, सहमहामन्त्री राणाले देशभरका कार्यकर्ता, जनप्रतिनिधि र शुभेच्छुकहरूले पनि सभापतिको राजीनामा नचाहेको बताएका छन्।
“स्थानीय तहका जनप्रतिनिधिदेखि कार्यकर्तासम्म सबैले सभापतिले अहिले राजीनामा दिनु हुँदैन भन्ने धारणा राखेका छन्,” उनले भने।



