राइडर गणेश नेपाली मृत्यु प्रकरण : तीन नगर प्रहरीसँग सोधपुछ

काठमाडौं । राइड सेयरिङ राइडर गणेश नेपालीको आत्मदाहपछि मृत्यु भएको घटनामा तीन जना नगर प्रहरीसँग प्रहरीले सोधपुछ गरेको छ।

त्रिपुरेश्वरस्थित राहदानी विभाग पछाडिको सडकमा बिहीबार खटिएका दुई जना महिला नगर प्रहरी र एक जना पुरुष नगर प्रहरीलाई बोलाएर घटनाबारे जानकारी लिइएको प्रहरीले जनाएको छ।

मुगुको सोरू गाउँपालिका–२ का २५ वर्षीय नेपालीको शुक्रबार बिहान उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो। उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको छ।

नेपालीले बिहीबार दिउँसो करिब १:४० बजे त्रिपुरेश्वरस्थित राहदानी विभाग पछाडिको सडकमा आफैंमाथि आगो लगाएका थिए। उनलाई तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍याइएको थियो।

प्रहरीका अनुसार नेपाली राइड सेयरिङमार्फत यात्रु लिएर राहदानी विभाग पुगेका थिए। उनको मोटरसाइकलमा काठमाडौं महानगर प्रहरी बलका अधिकारीले ह्विल लक लगाएपछि विवाद भएको थियो।

काठमाडौं प्रहरीका अनुसार नेपाली बिहान करिब ११ बजे विभाग पुगेका थिए। विवादपछि त्यहाँबाट निस्किएका उनी दिउँसो पुनः फर्किएका थिए। त्यस क्रममा महानगर प्रहरीले मोटरसाइकल लैजान खोजेपछि उनले आत्मदाह प्रयास गरेको प्रहरीको भनाइ छ।

आगो लगाएपछि घटनास्थलमा रहेका व्यक्तिहरूले पानी छर्केर आगो निभाएका थिए। त्यसपछि उनलाई प्रहरी र सर्वसाधारणको सहयोगमा मुख्य सडकसम्म ल्याई ट्याक्सीमार्फत वीर अस्पताल पुर्‍याइएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin