२५ असार, काठमाडौं — त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका २६ वर्षीय गणेश नेपाली अहिले वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा जीवन र मृत्युबीच संघर्ष गरिरहेका छन्। शरीरको करिब ६० प्रतिशत भाग जलेपछि उनको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।
घटनापछि वीर अस्पतालको आकस्मिक कक्ष बाहिर परिवारका सदस्यहरू पीडामा छन्। गणेशका दाइ मदन नेपाली भाइको अवस्थाबारे बोल्दा भावुक बने। उनका अनुसार प्रहरीले दिउँसो करिब साढे दुई बजे घटनाबारे जानकारी गराएको थियो।
“अस्पताल आएर हेर्दा भाइको शरीर सबै जलेको थियो। आँखाबाट आँसु बगिरहेको थियो, निकै गाह्रोसँग बोलिरहेको थियो,” मदनले भने।
अस्पतालमा बोलेका अन्तिम शब्द
मदनका अनुसार अस्पताल ल्याइएपछि गणेशले निकै कठिनाइका साथ केही शब्द मात्रै बोल्न सके।
“उसले मलाई एउटै कुरा भन्यो– ‘यो सबै महानगर प्रहरीले गर्दा भएको हो… आमा–बुवालाई राम्रो गर्नू।’ त्यसपछि उसले केही बोल्न सकेन,” मदनले भक्कानिँदै सुनाए।
परिवारका अनुसार यही वाक्य अहिले पनि उनीहरूको मनमा निरन्तर गुञ्जिरहेको छ।
उपचार खर्च जुटाउनै समस्या
गणेशको परिवार आर्थिक रूपमा कमजोर छ। उपचारका लागि आवश्यक खर्च जुटाउन उनीहरूलाई ठूलो समस्या परेको छ।
मदनका अनुसार अस्पतालको फार्मेसीमा कार्यरत एक चिकित्सकले औषधि उधारोमा उपलब्ध गराइदिएका छन्।
“हामी धेरै कमजोर परिवार हौं। अहिले भाइको उपचार कसरी गर्ने भन्ने सबैभन्दा ठूलो चिन्ता छ,” उनले भने।
विदेश जाने तयारीमा थिए गणेश
परिवारका अनुसार गणेशमा आत्मदाहजस्तो कदम चाल्ने कुनै संकेत देखिएको थिएन। उनी भविष्यका योजनाबारे परिवारसँग नियमित छलफल गर्थे र वैदेशिक रोजगारीमा जाने तयारीमा थिए।
केही दिनअघि उनले दाइसँग भनेका थिए—
“तपाईंभन्दा पहिले म विदेश जान्छु दाइ, तपाईं घर सम्हाल्नू।”
बिहीबार बिहान पनि उनी दाइ बसेको कोठामा गएका थिए। कोठा सार्ने विषयमा सामान्य छलफल भएको थियो र त्यसबेला उनको व्यवहार पूर्ण रूपमा सामान्य रहेको परिवारको भनाइ छ।
पठाओ चलाएर परिवार धान्दै आएका थिए
मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेश सात वर्षअघि काठमाडौं आएका थिए। कृषि विषयमा जुनियर टेक्निसियन (JT) अध्ययन गरेपछि रोजगारीको खोजीमा राजधानी आएका उनी पछिल्लो साढे दुई वर्षदेखि पठाओ चालकको रूपमा काम गर्दै आएका थिए।
उनकै कमाइबाट गाउँमा रहेका परिवारको खर्च चल्थ्यो।
परिवारमा उनकी श्रीमती, दुई वर्षीया छोरी तथा वृद्ध आमा–बुबा छन्। श्रीमती गृहिणी हुन्।
ऋण वा पारिवारिक तनाव थिएन
दाइ मदनका अनुसार गणेश ठूलो ऋणमा थिएनन् र मानसिक तनावमा रहेको पनि परिवारले कहिल्यै महसुस गरेको थिएन।
“ऊ धेरै सहनशील थियो। कहिल्यै कसैसँग झगडा गर्दैनथ्यो, रिसाउँदैनथ्यो। आफ्नो काममा मात्र केन्द्रित रहने मान्छे थियो,” उनले भने।
घटनाको वास्तविक कारण अझै अस्पष्ट
परिवारका अनुसार गणेश राहदानी विभाग किन पुगेका थिए भन्ने अझै स्पष्ट भएको छैन। उनी आफ्नै राहदानीको कामका लागि गएका थिए वा सेवाग्राहीलाई पुर्याउन पुगेका थिए भन्ने खुल्न बाँकी छ।
मदनका अनुसार गणेशले महानगर प्रहरीसँग विवाद भएको संकेत भने गरेका थिए।
“उसले बिना कारण लफडा भयो भनेको थियो। त्यसपछि के भयो, कसरी यस्तो भयो भन्ने बताउन सकेन,” उनले भने।
जेठानले समाचारबाट थाहा पाए
गणेशका जेठान विकास, जो स्वयं स्वास्थ्यकर्मी हुन्, घटनाबारे सञ्चारमाध्यमबाट जानकारी पाएको बताउँछन्।
तारकेश्वर सिटी अस्पतालमा ड्युटी गरिरहेका बेला उनले समाचार हेरेर गणेशले आत्मदाह प्रयास गरेको थाहा पाएका थिए।
“प्रहरीले बाइक लक गरिदिएपछि यस्तो भएको भन्ने सुनेका छौं। तर वास्तविक कारण के हो भन्ने हामीलाई पनि थाहा छैन,” उनले भने।
उनका अनुसार गणेश मेहनत गरेर परिवार पाल्ने, शान्त स्वभावका व्यक्ति थिए।
चिकित्सक: प्रारम्भिक ७२ घण्टा अत्यन्त संवेदनशील
वीर अस्पतालका प्लास्टिक सर्जन डा. पियुष दाहालका अनुसार गणेशको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भागमा गम्भीर जलन भएको छ।
प्रारम्भिक मूल्यांकनअनुसार शरीरको करिब ६० प्रतिशत भाग जलेको छ।
“उहाँको अवस्था निकै गम्भीर छ। आकस्मिक उपचारपछि आईसीयूमा राखेर सघन उपचार भइरहेको छ,” डा. दाहालले बताए।
उनका अनुसार यस्ता बिरामीमा संक्रमण, श्वासप्रश्वासमा समस्या, शरीरमा तरल पदार्थको कमी तथा अन्य अंगमा असर पर्ने जोखिम अत्यधिक हुने भएकाले प्रारम्भिक २४ देखि ७२ घण्टा सबैभन्दा संवेदनशील मानिन्छ।
घटनापछि विरोध प्रदर्शन
गणेशले आत्मदाह प्रयास गरेपछि साँझ काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शनसमेत भएको थियो। घटनाको वास्तविक कारण र महानगर प्रहरीको भूमिकाबारे विभिन्न कोणबाट प्रश्न उठिरहेका छन्।
यद्यपि परिवारले अहिले पनि घटनाको सम्पूर्ण सत्य बाहिर आउनुपर्ने माग गर्दै आएको छ भने गणेशको उपचार सफल होस् भन्ने प्रार्थनामै केन्द्रित छ।



