बलात्कारी र भ्रष्टाचारीलाई ‘घटनास्थलमै गोली ठोक्ने’ कानुन ल्याउन रास्वपा सांसद सुनारको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए घटनास्थलमै गोली ठोक्ने कानुन लागू गर्न सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले देशमा बलात्कार तथा हत्याका घटना दोहोरिइरहेको भन्दै दोषीमाथि कडा कारबाहीको व्यवस्था गर्नुपर्ने बताएका हुन्।

उनले बझाङकी सम्झना कामी, कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रुपन्देहीकी अङ्गिरा पासी, खोटाङकी रेस्मिका परियार, म्याग्दीकी मिना परियार तथा हालै बाराकी गरिमा चौधरीको बलात्कार र हत्याका घटनाको स्मरण गराए।

यस्ता आपराधिक घटनाको सूची लामो रहेको उल्लेख गर्दै सुनारले पीडितको नाम लिएर संसद्मा लामो बहस गर्नु मात्रै पर्याप्त नहुने बताए। उनले महिलाको सम्मान, सुरक्षा र बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

सांसद सुनारले बलात्कार र भ्रष्टाचारजस्ता गम्भीर अपराधमा सरकारले कुनै पनि प्रकारको सम्झौता गर्न नहुने बताए।

उनले भने, ‘बलात्कारी र भ्रष्टाचारी प्रमाणित भएको खण्डमा अन द स्पट ठोक्ने कानुनको व्यवस्था तत्काल लागू गर्न आह्वान गर्दछु।’

गरिमा चौधरीको घटनालाई उल्लेख गर्दै उनले चेलीहरू निर्धक्क भएर बाँच्न र आफ्नो जीवन जिउन सक्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरे।

सुनारले अपराध नियन्त्रणका लागि कडा कानुनी व्यवस्था र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राखेका छन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin